लक्ष्य भन्दा बढी राजश्व असूली

- देवनारायण साह , मोरङ
  • लक्ष्यभन्दा ७४ लाख रुपैयाँ बढी राजश्व संकलन
विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी मणिराम पौडेलले चालू आर्थिक वर्षको ६ महिनामा लक्ष्यभन्दा ७४ लाख रुपैयाँ बढी राजश्व संकलन भएको बताउनुभयो । 

माघ १, २०७५

मोरङको विराटनगर भन्सार कार्यालयले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकमा लक्ष्य भन्दा बढी राजश्व असूली गरेको छ । भन्सार कार्यालयले चालू आर्थिक वर्षको ६ महिनामा १९ अर्ब ५७ करोड २० लाख रुपैयाँ राजश्व संकलन गरेको हो ।

चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकमा १९ अर्ब ५६ करोड ४६ लाख रुपैयाँ राजश्व असूलीको लक्ष्य रहेको कार्यालयले जनाएको छ । विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी मणिराम पौडेलले चालू आर्थिक वर्षको ६ महिनामा लक्ष्यभन्दा ७४ लाख रुपैयाँ बढी राजश्व संकलन भएको बताउनुभयो । 

भन्सार महसुल ८ अर्ब १२ करोड १ लाख, मूल्य अभिवृद्धि कर १० अर्ब, ३६ करोड २६ लाख र अन्त:शुल्कबाट १ अर्ब ८ करोड ९३ लाख रुपैयाँ असूली भएको पौडेलले बताउनुभयो । गत वर्षको पुस महिना सम्ममा १३ अर्ब ८३ करोड ६२ लाख रुपैयाँ राजश्व असूली भएको थियो ।

गत वर्ष भएको राजश्व असूलीको ३० प्रतिशत वृद्धि गरेर चालू आर्थिक वर्षको राजश्व संकलनको लक्ष्य ४२ अर्ब ५३ करोड १९ लाख तोकेको रहेको उहाँले बताउनुभयो ।

भन्सार नाकाबाट भारत लगायत तेस्रो मुलुक निकासी हुने प्रमुख वस्तुहरुमा सेन्थेटिक यार्न, जुटको झोला, जुटका कपडा, अलैंची, अन्य रेसाको कपडा, रिफाइण्ड पाम आयल, जीआई वायर, कोरुगेरेटेड जस्तापाता, कपर सिट र पिना रहेको छ ।

नेपालमा आयात हुने प्रमुख वस्तु पेट्रोलियम पदार्थ, एमएस बिलेट, पोलिथिन दाना, स्टिल वायर रड, सेन्थेटिक यार्न, सिआरसिट, एलपी ग्यास, एचआर सिट र खाद्यान्न लगायत रहेको विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी पौडेलले बताउनुभयो ।

विराटनगर भन्सार प्रमुख मिमांस अधिकारीले भन्सार जाँचपासमा सहजता, माल वस्तुको यथार्थपरक मूल्यांकन तथा वस्तु वर्गीकरण, यात्रु जाँचपासमा कडाइ, चोरी पैठारी, निकासी नियन्त्रण तथा गस्ति परिचालनले लक्ष्य अनुसार राजश्व संकलन गर्न सहज भएको बताउनुभयो ।

मुद्दाको रुपमा दाखिला भएको माल वस्तुको समयमा नै लिलाम बिक्री गर्ने नीति अनुसार राजश्व असूली कार्यलाई प्रभावकारी बनाएको उहाँले बताउनुभयो । 

प्रकाशित:माघ १, २०७५

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्