अब नेपालको लडाईँ भ्रष्टाचार विरुद्ध : उपराष्ट्रपति पुन

- प्रकाश बराल , बागलुङ
    उपराष्ट्रपति पुनले प्रविधि बिनाको विकास असम्भव भएको भन्दै हरेक किसानको घरमा अब प्रविधि भित्र्याउनु पर्ने बताउनुभयो ।

    माघ १, २०७५

    उपराष्ट्रपति नन्दबहादुर पुनले अबको नेपालको लडाईँ भ्रष्टाचार विरुद्ध हुनुपर्ने बताउनु भएको छ । राजनीतिक परिवर्तनको एजेण्डा थाती राखेर सुशासन कायम राख्न सबै लाग्नुपर्ने बेला आएको उहाँले बताउनुभयो ।

    बागलुङको जैमिनीमा आयोजित महोत्सवको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले विभेद, भ्रष्टाचार र खुट्टा तान्ने प्रवृत्ति सबै क्षेत्रमा पूर्ण रुपमा अन्त्य हुनुपर्ने बताउनुभयो ।

    ‘अब सामाजिक विभेद, अत्याचार र अन्याय पुरै अन्त्य हुनुपर्छ’ पुनले भन्नुभयो, ‘नेपालीको चाहना लडाईँमा नभई विकासमा रुपान्तरित भैसकेको छ, अब सुखी नेपाली कसरी बनाउने केन्द्र, प्रदेश र स्थानीय सरकारहरु त्यसैतर्फ सक्रिय हुनुपर्ने छ ।’ 

    विकासका लागि लगानी बढाउने, कृषिको आधुनिकीकरण र पर्यटन विकासका लागि साझा मार्गचित्र बनाउन उहाँले सरकारलाई आग्रह समेत गर्नुभयो । उपराष्ट्रपति पुनले प्रविधि बिनाको विकास असम्भव भएको भन्दै हरेक किसानको घरमा अब प्रविधि भित्र्याउनु पर्ने बताउनुभयो ।

    ‘प्रविधि बिना विकास असम्भव छ’ उहाँले भन्नुभयो, ‘तीव्र उत्पादनमा जान सकिएन भने हामी अब विकासको पछौटे हुनेछौं ।’ विकासमा अगुवा बन्नका लाग कृषि औजारमा आधुनिकीकरण, पर्यटन क्षेत्रको विकास र जलविद्युत उत्पादनमा लगानी आवश्यक रहेको उहाँको भनाई थियो । पुनले अब नेपालमा आर्थिक उन्नतीको युग शुरु भएको पनि उपराष्ट्रपति नन्दबहादुर पुनले उल्लेख गर्नुभयो । 

    सुखी नेपालीको चाहना पूरा गर्न कृषि क्रान्तिको विकल्प नभएको उहाँको भनाइ छ । आत्मनिर्भर अर्थतन्त्र हुँदै विकसित राष्ट्रको सूचीमा पुग्न हरेक नागरिकले श्रम गर्ने वातावरण सिर्जना गर्न सरकारलाई आग्रह उपराष्ट्रपति नन्दबहादुर पुनको आग्रह थियो । 

    केही दिन देखि संचालित महोत्सवको मुख्य मेला माघे सक्रान्तिको अवसर पारेर गरिएको हो । स्थानीय साहारा युवा क्लबले आयोजना गरेको मेला उद्घाटन गर्न पुगेका उपराष्ट्रपति पुनलाई जिल्लाका धेरै जनप्रतिनिधिले भेटेर सडक, खानेपानी र गौरवका आयोजनाहरुमा राज्यको लगानी बढाउन पहल गरिदिन आग्रह समेत गरेका थिए ।

    उहाँले सडक, शिक्षा र स्वास्थ्य जस्ता आधारभूत तहमा राज्यको लगानी बढाउने र आयोजनाहरु प्राथमिकतामा राख्न पहल गर्ने बताएपछि जनप्रतिनिधिहरुले स्थानीय योजनाहरु पनि गौरवका आयोजनाका पुरक बनाउने बताएका थिए । 

    जैमिनी ऋषिले तपस्या गरेर ज्ञान र साधना पाएको स्थानको रुपमा कालीगण्डकी र ठेउले खोलाको संगमस्थललाई जैमिनीघाट भनिन्छ । साविको कुश्मीसेरामा पर्ने यो स्थानकै नामबाट यहाँको नगरपालिकाको नाम समेत जैमिनी राखिएको छ ।

    जैमिनी ऋषिकै सम्झना माघे संक्रान्ति र बाला चर्तुदशीमा धार्मिक मेला लाग्थ्यो । उक्त मेलालाई स्थानीय तह र क्लबको संयोजनमा महोत्सवको रुप दिइएको हो । महोत्वसमा कृषि, घरेलु उद्योग, पर्यटन र कला तथा संस्कृति झल्कने झाँकी, वस्तुहरुको प्रर्दशनी र व्यापारिक स्टल समेत राखिएका छन् । 

    प्रकाशित:माघ १, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्