पुँजीगत खर्च यो वर्षपनि कछुवा गतिमै

- अनिल परियार , काठमाडौं
  • चालू आर्थिक वर्षको पुष मसान्तसम्म २ खर्ब ८७ अर्ब रुपैयाँ खर्च
पुँजीगत खर्चमा सुधार आउन नसकेपछि ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पूरा हुन चुनौती रहेको अर्थविदहरु बताउँछन् ।

माघ १, २०७५

पुँजीगत खर्च यो वर्षपनि कछुवा गतिमै छ । चालू वर्षको ६ महिनामा पुँजीगत खर्च जम्मा १६ प्रतिशत अथार्त ५१ अर्ब ३६ करोड रुपैयाँ मात्रै खर्च हुन सकेको छ । पुँजीगत खर्च गर्न नसकेको सरकारले चालू खर्च भने ३३ प्रतिशत पुर्‍याएको छ ।

चालू आर्थिक वर्षको पुष मसान्तसम्म २ खर्ब ८७ अर्ब रुपैयाँ खर्च भएको महालेखा नियन्त्रक कार्यलयको तथ्याङकमा उल्लेख छ । स्थानीय तहमा सीधै बजेट निकासा भएको र पूर्वाधारका ठूला आयोजनामा कुनै अवरोध नहुँदा समेत सरकारको खर्च गर्ने शैलीमा भने यो पटक पनि सुधार आउन सकेन ।

अधिल्लो वर्षको तुलनामा पुँजीगत खर्च केही बढेपनि २ तिहाई बहुमतको सरकार खासगरी मुलुकको अर्थतन्त्रलाई राम्ररी बुझेका अर्थमन्त्री हुँदा विकास निर्माणका काममा अपेक्षित सुधार आउन सकेन । 

पुँजीगत खर्चमा सुधार आउन नसकेपछि ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पूरा हुन चुनौती रहेको अर्थविदहरु बताउँछन् ।

पुँजीगत खर्च पर्याप्त हुन नसक्ने, लगानीको वातावरण पनि नहुने र रेमिट्यान्सबाट आएको पैसा पनि उपभोगमा मात्र खर्च हुने हो भने आर्थिक समृद्धिको नारा कागजमै सीमित हुने अर्थविद डा. रघुविर विष्टको भनाई छ । 

सरकारले विकास निर्माणका लागि यो वर्ष ३ खर्व १३ अर्व रुपैयाँ बजेट विनियोजन गरेको थियो । चालू आर्थिक वर्षको अन्त्यमा मात्रै खर्च हुने परिपाटीले आर्थिक अनियमितता र भ्रष्टाचार बढ्ने विष्टले बताउनुभयो ।

जेठ १५ मै बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएपनि खर्च गर्ने प्रणालीमा भने सुधार आउन सकेको छैन । गत आर्थिक वर्षमा पनि सरकारले ८० प्रतिशत मात्रै पुँजीगत खर्च गरेको थियो । 

प्रकाशित:माघ १, २०७५

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्