निजी आवास पुन:निर्माणमा पौने २ अर्ब

- आश गुरुङ , लमजुङ
  • १ अर्ब ६२ करोड बढी निजी आवासमा खर्च
२०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्पपछि लमजुङमा २०७३ पुस २१ गतेबाट नीजि आवास पुन:निर्माणका लागि प्राविधिक सर्वेक्षण सुरु भएको थियो । चैत २८ गतेदेखि अनुदान सम्झौता थालिएकोमा असार १४ गतेदेखि अनुदान वितरण सुरु गरिएको थियो ।

माघ २, २०७५

भूकम्पपछिको निजी आवास पुन:निर्माण गर्न लमजुङमा करीब पौने २ अर्ब रुपैयाँ खर्चको भएको छ । अनुदान वितरण गर्न थालिएको साढे वर्षको अवधिमा सरकारी तथा गैरसरकारी संस्थाको १ अर्ब ६२ करोड ६३ लाख ५० हजार रुपैयाँ निजी आवासमा खर्च भएको देखिएको छ ।

गैसरकारी संस्थाको अझै पूर्ण विवरण नआउँदा खर्च बढ्न सक्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालयले जनाएको छ । सरकारी अनुदान १ अर्ब ५४ करोड ६८ लाख ५० हजार रुपैयाँ र गैरसरकारी संस्था अनुदान ७ करोड ९५ लाख रुपैयाँ रहेको कार्यालयले जनाएको छ ।

२०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्पपछि लमजुङमा २०७३ पुस २१ गतेबाट नीजि आवास पुन:निर्माणका लागि प्राविधिक सर्वेक्षण सुरु भएको थियो । चैत २८ गतेदेखि अनुदान सम्झौता थालिएकोमा असार १४ गतेदेखि अनुदान वितरण सुरु गरिएको थियो ।

आयोजना कार्यान्वयन इकाईका निमित्त आयोजना प्रमुख ईन्जिनियर उशेष श्रेष्ठका अनुसार लमजुङका १३ हजार ९ सय ५९ लाभग्राही सूचीमा छन् । यी मध्ये १३ हजार ४ सय ९५ लाभग्राहीले अनुदान सम्झौता गरेका छन् ।

१३ हजार ४ सय ५९ ले पहिलो किस्ता बापतको ५० हजार रुपैयाँ लगेका छन् । ५ हजार ३ सय ३४ घरपरिवारले दोस्रो किस्ता बापत १ लाख ५० हजार रुपैयाँ लगेका छन् । १ हजार ३ सय ६४ जनाले तेस्रो किस्ताको १ लाख रुपैयाँ लगेका छन् । 

प्राधिकरणको जिल्ला आयोजना कार्यन्वयन इकाईका फोकल पर्सन शिव रेग्मीका अनुसार पहिलो किस्ता बापत सरकारी अनुदान १३ हजार १ सय २४ लाभग्राहीले ६५ करोड ६२ लाख रुपैयाँ भुक्तानी लिएका छन् ।

५ हजार १९ लाभग्राहीले दोस्रो किस्ता बापत ७५ करोड २८ लाख ५० हजार रुपैयाँ लिएका छन् । १ हजार २ सय २९ लागभ्राहीले तेस्रो किस्ता १२ करोड २९ लाख रुपैयाँ लगेका छन् । आवास प्रवलीकरण सूचीमा परेका ५ सय ३९ लाभग्राही मध्ये २ सय ९० लाभग्राहीले पहिलो किस्ता बराबर ५० हजारका दरले १ करोड ५० लाख रुपैयाँ लगेका छन् ।

गैरसकारी संस्था मार्फत ३ सय ३५ पीडितले पहिलो किस्ता बापत १ करोड ६७ लाख ५० हजार रुपैयाँ लगेका छन् । ३ सय ३५ लाभग्राहीले दोस्रो किस्ता बापत ५ करोड २ लाख ५० हजार रुपैयाँ लगेका छन् । १ सय २५ पीडितले तेस्रो किस्ता बापत १ करोड २५ लाख रुपैयाँ लगेका छन् । रेग्मीका अनुसार पछिल्लो समय दोस्रो र तेस्रो किस्ता लाने क्रम बढ्दो छ । उहाँले भन्नुभयो, ‘दोस्रो र तेस्रो किस्ता धमाधम लानुले घर निर्माण धमाधम भइरहेको देखाउँछ ।’ 

उहाँका अनुसार गोरखासँग सीमा जोडिएका दूधपोखरी गाउँपालिका १ दूधपोखरी र २ बिचौरका लागग्राहीले गोरखाको भच्चेकस्थित बैंकबाट अनुदान रकम लिने व्यवस्था मिलाइएको छ । बाँकीले बेंसीसहर तथा आसपासका बैंकमा अनुदान रकम पठाउने गरिएको उहाँले बताउनुभयो ।

भूकम्पले घर क्षति पुर्‍याएर पनि लाभग्राही सूचीमा नपरेको भन्दै ६ हजार ८ सय ५५ जनाले गुनासो फारम भरेका छन् । १ हजार बढीले अनुदान सम्झौता अगावै घर निर्माण गरिसकेको अनुमान गरिएको छ । अहिले निजी आवास पुन:निर्माणकार्यको आर्थिक कारोबार बाहेक सवै काम स्थानीय तहले गर्ने भएपछि पुन:निर्माणले गति लिने अपेक्षा गरिएको रेग्मीले बताउनुभयो ।

प्राधिकरणले स्थानीय तहमा इन्जिनियर, सब–इन्जिनियर, असिष्टेण्ट सब–इन्जिनियर र डकर्मी आवश्यकता अनुसार खटाउने र हाजिरी राख्ने लगायतका प्रशासनिक क्रियाकलापको जिम्मेवारी स्थानीय तहले गर्ने समझदारी भइसकेको छ ।

निजी आवास पुन:र्निर्माण सम्बन्धी तथ्यांक, अभिलेख, दस्तावेज प्राधिकरणबाट नगरपालिका तथा गाउँपालिकामा पठाइएको छ । जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डेले निजी आवास पुन:निर्माणलाई छिटो सक्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, सम्बन्धित कार्यालयका कर्मचारी, प्रशासन सवैको सहयोगमा छिट्टै निजी आवास पुन:निर्माणकार्यलाई टुंग्याउन जरुरी छ । जति लम्बिँदै गयो, त्यति समस्या थपिँदै जान्छ ।’ 

प्रकाशित:माघ २, २०७५

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्