राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालाबन्दी 

- दुर्गालाल केसी , दाङ

    माघ २, २०७५

    दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीहरुले आज बिहान प्रतिष्ठानको केन्द्रीय कार्यालयका साथै सम्पूर्ण प्रशासनिक कार्यालयमा तालाबन्दी गरेका छन् । पेशागत सुरक्षा र अस्पताल सुधारको माग राख्दै आन्दोलन थालेको कर्मचारी संघर्ष समितिले जनाएको छ । 

    भोलि इमर्जेन्सी, प्रसूति बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने कार्यक्रम रहेको संघर्ष समिति संयोजक हिमराज गौतमले बताउनुभयो । राप्ती उपक्षेत्रीय अस्पतालको स्वामित्व प्रतिष्ठानमा हस्तान्तरण भएपछि प्रतिष्ठानका पदाधिकारी व्यक्तिगत स्वार्थमा लागेको उहाँले बताउनुभयो ।

    कर्मचारीहरुको समायोजन हुनुपर्ने, तबल पाउनुपर्ने, सुबिधा कटौती गर्न नहुने लगायतका ८ बुँदे माग राखी आन्दोलन थालेको गौतमले जानकारी दिनुभयो ।

    प्रतिष्ठानले साविक राप्ती उपक्षेत्रीय अस्पताल विकास समिति र नेपाल सरकारका श्रेणीबिहीन कर्मचारीहरुको म्याद थप नगरेको उहाँले बताउनुभयो ।

    प्रतिष्ठानले तत्काल म्याद थप गरेर समायोजन गर्नुको साटो साविक अस्पताल विकास समिति र सरकारका करार कर्मचारीलाई निस्कासन गर्न पत्र तयार पारेका कारण आन्दोलित भएको उहाँले बताउनुभयो ।

    अस्पतालका कर्मचारीहरुले गत साउनदेखि तलब नपाएको संयोजक गौतमले जानकारी दिनुभयो । प्रतिष्ठानमा विकास समिति अन्तर्गतका ६२ कर्मचारी कार्यरत छन् ।

    प्रकाशित:माघ २, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्