पूर्वाञ्चल विश्वविद्यालयमा चार दिनदेखि ताला

- विनोद भण्डारी , विराटनगर
  • विश्वविद्यालयका सबै पदाधिकारी बाहिर

माघ २, २०७५

पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा चार दिनअघि लागेको ताला अझै खुलेको छैन । पदाधिकारी नियुक्ती र कर्मचारी सरुवाको विरोधमा प्राध्यापक संघ र कर्मचारी संघले उपकुलपति प्रा.डा घनश्यामलाल दास, रजिष्टार प्रमिला थापा र सहरजिष्टार राजेश झाको कार्यकक्षमा ताला लगाएका थिए ।

तालाबन्दीका कारण विश्वविद्यालयको केन्द्रीय कार्यालयको सम्पूण कार्य पाँच दिनदेखि ठप्प छ । विश्वविद्यालय प्रशासनले प्राध्याध्यापक र कर्मचारी संघसँग वार्ता गर्ने र ताला खोल्ने विषयमा अहिले सम्म पहल समेत गरेको छैन ।

कर्मचारी संघका अध्यक्ष राजकुमार सापकोटाका अनुसार तालाबन्दीको चार दिन बित्दा सम्म विश्वविद्यालय प्रशासनले कर्मचारी र प्राध्यापक संघसँग त्यस विषयमा छालफलको पहल समेत गरेको छैन । उपकुलपति दासले प्राध्यापक र कर्मचारीसँग वार्ता गरेर ताला खुलाउने प्रयास भइरहेको बताउनुभयो ।

वार्ताका लागि व्यवस्थापन क्याम्पस प्रमुख बिजु थपलियाको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरिएको र टोलीले काम सुरु गरेको उहाँले बताउनुभयो ।

विश्वविद्यालयले सहरजिष्टारमा समन्वय महाशाखा प्रमुख राजेश झा, सहडिनमा गोपाल शर्मा र कोमल दुलाललाई नियुक्ती गरी दर्जन बढी कर्मचारीलाई सरुवा गरेको विरोधमा प्राध्यापक र कर्मचारी संघले ताला लगाएका थिए । 

पूर्वाञ्चल विश्वविद्यालमा बाहिरका व्याक्तिलाई सहरजिष्टारमा नियुक्ती गरेको प्राध्यापक संघको आरोप छ । तर, सहरजिष्टारमा नियुक्ती पाएका झा विगत १८ वर्षदेखि यो विश्वविद्यालयमा कार्यरत रहेका कर्मचारी हुन् । उनी गत वर्षदेखि समन्वय महाशाखा प्रमुख हुन् ।

त्यसैगरी, कार्य विधि नबनाई कर्मचारीलाई जथाभावी सरुवा गरेको भन्दै कर्मचारी संघले विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको हो ।

कार्य विधि नबनाई कर्मचारी जथाभावी सरुवा गरेको, विश्वविद्यालयमा कर्मचारी महाशाखा गठन गर्ने सहमति भएपनि नगरिएको र सेवा आयोगलमा दरबन्दी नपठाई स्थगित भएको परीक्षा सञ्चालन गर्न विश्वविद्याल प्रशासनले तत्परता नदेखाएकाले तालाबन्दी गरिएको संघका अध्यक्ष सापकोटाको भनाई छ ।

सबै पदाधिकारी वाहिरका

पूर्वाञ्चल विश्वविद्यालयका सबै पद्याधिकारी बाहिरका भएको पाइएको छ । तर, उनीहरुले नियुक्ती पाउँदा विश्वविद्यालयका प्राध्यापक र कर्मचारी कसैले पनि विरोध र तालाबन्दी गरेका थिएनन् । उपकुलपति घनश्यामलाल दास पनि बाहिरका प्राध्यापक हुन् ।

उनी महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पसका प्राध्यापक हुन् । राजिष्टार प्रमिला थापा पनि बाहिरकी हुन् । उनी अघिल्लो पटक सहरजिष्टार थिइन । विज्ञान तथा प्रविधि संकायका डिन सुभनारायण पाठक पनि त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हु्न् । चिकित्सा शास्त्र संकायका डिन शैलेसमणी पोखरेल विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ल्यायिएका हुन् । उनी शिक्षामन्त्री गिरिराजमणी पोखरेलका भतिजा हुन् । 

त्यसैगरी, व्यवस्थापन संकायका डिन प्रा.डा खगेन्द्र आचार्य, कला संकायका डिन शम्भु कोइराला, अनुसन्धान विभाग प्रमुख मिनराज ढकाल, परीक्षा नियन्त्रक सूर्य संग्रौला त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हुन् । संग्रौला नेपाल महिला संघकी पूर्व केन्द्रीय सभापति तथा सभासद डिला संग्रौलाका पति हुन् । उनीहरु सबैले नियुक्ती पाउँदा विश्वविद्यालयका कर्मचारी र प्राध्यापक कसैलेपनि विरोध गरेका थिएनन् ।

प्रकाशित:माघ २, २०७५

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्