७८ हजार निजामति कर्मचारीले समायोजन रोजे

- रेडियो कान्तिपुर, काठमाडौं

    माघ २, २०७५

    – कर्मचारी समायोजन प्रक्रिया अन्तर्गत ७८ हजार कर्मचारीले समायोजन रोजेका छन् । जसमध्ये ७० हजार ४ सय ४५ कर्मचारीले अनलाइन मार्फत आवेदन फारम पेश गरीसकेको र बाँकीले पेश गरीरहेको अनलाइन फारमको तथ्यांकले देखाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको  छ । समायोजन शाखाकी उप सचिव अनिता निरौलाका अनुसार आजको मितिसम्म आवेदन मात्र संकलन गरिएको हो । निजामति किताबखानामा कर्मचारीले पेश गरेको अध्यावधिक विवरण रुजु गरेर मात्रै कर्मचारीलाई समायोजनको पत्र दिने उहाँले बताउनुभयो ।

    निजामति कर्मचारीको विवरण अध्यावधिक नभए पनि आवेदन भर्न कुनै समस्या नरहेकाले आज राती १२ बजेसम्म भए पनि फारम भर्न मन्त्रालयले आग्रह गरेको छ । आवेदनमा विवरण गलत भएर पेन्डिङ भएका कर्मचारीलाई मन्त्रालय आफैंले पनि सहजीकरण गरीरहेको छ । कुनै कारण बस फारम भर्न नसकेका कर्मचारीलाई कर्मचारी समायोजन अध्यादेश अनुसार संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्न बाधा नपर्ने मन्त्रालयका सह प्रवक्ता समेत रहेकी निरौलाले बताउनुभयो ।

    मन्त्रालयले गत पुस १८ गते कर्मचारी समायोजन सम्बन्धी २१ दिने सार्वजनिक सूचना जारी गरेको थियो । निजामति किताब खानामा दर्ता भएका कर्मचारीको संख्या ८९ हजार रहेको मन्त्रालयले जनाएको छ ।

     

    प्रकाशित:माघ २, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्