नेपाली श्रमिक जापान पठाउने विषयमा दुई देशबीच सहमति 

- रेडियो कान्तिपुर, काठमाडौं

    माघ ३, २०७५

    वैदेशिक रोजगारीका लागि नेपाली श्रमिक जापान पठाउने विषयमा नेपाल र जापानबीच सहमति भएको छ । दुई देशबीच नयाँ संयन्त्र स्थापना गरी नेपाली श्रमिक जापान पठाउने विषयमा सहमति भएको हो । नेपाल र जापानी प्रतिनिधिबीच काठमाडौंमा आज सम्पन्न द्विपक्षीय औपचारिक वार्तामा नयाँ संयन्त्र स्थापना गरी नेपाली श्रमिक पठाउने सहमति भएको हो ।

    सो सहमति कार्यान्वयनका लागि उच्चस्तरीय समझदारी छिट्टै गर्न दुबै पक्ष तयार रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । दुई देशबीचको बैठकमा नेपालले पारदर्शी र प्रतिस्पर्धी पद्धतिबाट उपयुक्त विधि, प्रणाली र संयन्त्रको विकास गरी आप्रवासनका क्षेत्रमा विश्वव्यापी रूपमा स्थापित भएका नविनतम मान्यता एवं मापदण्ड अनुरूप श्रमिक पठाउने विषयमा जोड दिइएको थियो । 

    नयाँ व्यवस्था अनुरूप जापानमा काम गर्न पाउने वातावरणको सिर्जना गर्न दुबै देशले थप गृहकार्य गर्ने सहमति भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले बताउनुभयो ।

    बैठकमा जापानी पक्षले आफ्नो अध्यागमन सम्बन्धी संशोधित कानूनी व्यवस्था अनुसार विदेशी श्रमिकको व्यवस्थापन गर्ने सम्बन्धमा जापान सरकारबाट जारी भएका नयाँ कानूनी प्रावधानबारे औपचारिक रूपमा जानकारी मन्त्रालयका प्रवक्ता रेग्मीले जानकारी दिनुभयो । 

    ‘हामीले व्यवस्थित, सुरक्षित र मर्यादित रूपमा नेपाली श्रमिक जापानमा पठाउने सन्दर्भमा पारस्परिक हित प्रर्वधन हुनेगरी समझदारी कायम गर्न श्रमिक आप्रवासनका विविध आयाममा छलफल भयो ।’ 

    बैठकमा आगामी दिनमा द्विपक्षीय संवाद मार्फत उच्चस्तरको समझदारी गरी छिट्टै नेपाली श्रमिकले नयाँ व्यवस्था अनुरूप जापानमा काम गर्न पाउने वातावरणको सिर्जना गर्न दुबै देशले थप गृहकार्य गर्ने सहमति भएको छ ।

    नेपाली कामदारले जापानमा सिकेको ज्ञान, सीप र अनुभवलाई उद्यमशीलताको माध्यम मार्फत नेपालको विकासमा योगदान पुर्‍याउने वातावरणको सिर्जना गर्ने गरी दुबै देशले सहकार्य गर्दै जाने सहमति भएको मन्त्रालयले जनाएको छ ।

    प्रकाशित:माघ ३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्