सामूहिक बलात्कार काण्डका मुख्य दोषी १० वर्षपछि पक्राउ

- दुर्गालाल केसी , दाङ
  • पक्राउ परेका चौधरी घोराही कारागार चलान
अदालतको फैसलापछि फरार भनिए पनि राजनीतिक शक्तिको आडमा खुला रुपमा हिँडिरहेका चौधरीलाई प्रहरीले लामो समयपछि पक्राउ गरेको हो ।

माघ ४, २०७५

दाङको बिजौरीमा भएको सामूहिक बलात्कार काण्डका मुख्य दोषी १० वर्षपछि पक्राउ परेका छन् । सामूहिक बलात्कार काण्डका मुख्य दोषी तुलसीपुर उपमहानगरपालिका १८ बिजौरीका ३१ वर्षीय विष्णु चौधरीलाई प्रहरीले हिजो पक्राउ गरेको हो ।

सर्वोच्च अदालतबाट २०७२ फागुन ३० गते फैसला भई ९ वर्ष ११ महिना २ दिन कैद सजाय र ५० हजार रुपैयाँ जरिवाना तोकिएका तुलसीपुर उपमहानगरपालिका १८ बिजौरीका चौधरीलाई पक्राउ गरी जिल्ला अदालतमार्फत घोराही कारागार चलान गरिएको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

२०६५ चैत १५ गते गढवाकी १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएपछि उनको ८४ औं दिनमा उपचारका क्रममा मृत्यु भएको थियो । तुलसीपुरमा आफन्तलाई भेट्न गएकी किशोरी नेपाल बन्दका कारण हिँड्दै आइरहेको अवस्थामा तुलसीपुर उपमहानगरपालिका १८ बिजौरीमा केही युवाहरुले नियन्त्रणमा लिई बलात्कार गरेका थिए । 

अदालतको फैसलापछि फरार भनिए पनि राजनीतिक शक्तिको आडमा खुला रुपमा हिँडिरहेका चौधरीलाई प्रहरीले लामो समयपछि पक्राउ गरेको हो ।  उनी यसअघि माओवादी केन्द्र निकट विद्यार्थी संगठनका केन्द्रीय सदस्य थिए । जनता विद्यापीठ बिजौरीको स्ववियू उपसभापति भएको बेला बलात्कार काण्ड भएको थियो । 

अदालतले सजाय फैसला गरिसक्दा पनि उनले बिजौरीमा असहाय बालविकास नेपाल नामक संस्था दर्ता गरी सञ्चालन गरिरहेका थिए । तत्कालीन सभामुख ओनसरी घर्तीले २०७३ पुस २९ मा केन्द्रको उद्घाटन गरेकी थिइन् ।

चौधरीविरुद्ध नेपाल संस्कृत विश्वविद्यालयका पदाधिकारीमाथि आक्रमण गरेको र विश्वविद्यालयको सम्पत्ति तोडफोड गरी चोरी गरेको घटना सम्बन्धमा समेत अनुसन्धान भैरहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले बताउनुभयो ।

उनी अन्य कुनै आपराधिक घटनामा संलग्न भएको भए जानकारी उपलब्ध गराउन प्रहरीले सार्वजनिक रुपमा सबैलाई अनुरोध गरेको छ । उक्त बलात्कार घटनामा संलग्न अन्य ६ जनाले सजाय भुक्तान गरिसकेको र मोहन पुन अझै फरार रहेको डीएसपी घर्तीले जानकारी दिनुभयो ।

प्रकाशित:माघ ४, २०७५

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्