आफूमाथि लागेको आरोप आधारहिन : एन्फा अध्यक्ष शेर्पा

- लक्ष्मी जिसी, काठमाडौं
  • आफू विरुद्ध उठेको प्रश्नको जवाफ दिन जहाँपनि जान तयार
जथाभावी भत्ता वितरणको आरोप लगाएपनि अहिले सम्म ठोस प्रमाण पेश गर्न नसकेको उनको भनाई छ । अहिले आफू विरुद्ध उठेको प्रश्नको जवाफ दिन जहाँपनि जान तयार रहेको उनले बताए ।

माघ ४, २०७५

अखिल नेपाल फुटबल संघ एन्फा निर्वाचनका समयमा अनिमियतता भएको भन्दै ४ जिल्ला सघंका अध्यक्षले लगाएको आरोप आधारहिन रहेको अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताएका छन् । ललितपुरमा आज पत्रकार सम्मेलन गर्दै एन्फा अध्यक्ष शेर्पाले भष्ट्राचारका विषयमा छानविन गर्न गठन भएका समितिलाई स्वागत गर्ने बताए ।

जथाभावी भत्ता वितरणको आरोप लगाएपनि अहिले सम्म ठोस प्रमाण पेश गर्न नसकेको उनको भनाई छ । अहिले आफू विरुद्ध उठेको प्रश्नको जवाफ दिन जहाँपनि जान तयार रहेको उनले बताए । विगतमा भष्ट्राचार भएपनि अहिले आफूहरुले पारदर्शीताको अभियान सुरु गरेकाले कुनै काम अपारदर्शी नभएको दाबी शेर्पाको छ ।

आफू भष्ट्रचार विरोधी भएकाले फुटबल संघमा  भएका अनिमियताको छानविनमा सहयोग गर्न तयार रहेको भन्दै एन्फा अध्यक्ष शेर्पाले विगतमा भएका कामको पनि छानविन गर्न माग गरेका छन् । 

४ जिल्लाका अध्यक्षले सार्वजनिक गरेको अडियो टेप तोडमोड गरेको आरोप समेत शेर्पाले लगाए ।

यो विषयमा ४ अध्यक्षसँग स्पष्टिकरण लिने शेर्पाले बताए । टेपमा बोलेको र नोटरी पब्लिकमा भएको कुरा फरक भएको उल्लेख गर्दै आपराधिक क्रियाकलाप गर्नेलाई छानविनको दायरामा राखेको बताएका छन् ।

हिजो बसेको बैठकले यो विषयमा छानविन गर्न अनुशासन कमिटीलाई सिफारिस समेत गरेको छ । ४ जिल्ला संघले आरोप लगाएको की ४ जना व्यक्तिले आरोप लगाएको भन्ने बारेमा छानविन गर्ने र स्पष्टिकरण सोध्ने एन्फाको तयारी छ ।

यसअघि काठमाडौ, ललितपुर, भक्तपुर र धादिङ जिल्लाका अध्यक्षले एन्फा निर्वाचनमा अनिमियतता भएको आरोप लगाउँदै प्रमाणका रुपमा अडियो टेप सार्वजनिक गरेका थिए । टेप प्रकरणमा एएफसीबाट पत्र आएकाले आगामी फेब्रुअरी १८ सम्ममा जवाफ पठाउने तयारी एन्फाको छ ।

फिफा विश्वकपको टिकट खरिदमा अनिमियतता भन्ने आरोप झुटो भएको समेत शेर्पाले प्रष्टोक्ती दिएका छन् ।  

यस्तै, पहिलेको कार्यसमितिले केल्मेसँग ५५ लाख रुपैयाँको सामान खरिद गरेको बिल भएपनि १५ लाखको सामान मात्र देखिएको र बाँकी ४० लाख रुपैयाँको सामान नभेटिएकोले त्यसबारेका छानविन भईरहेको पनि शेर्पाले जानकारी दिए ।

बगंलादेश र मंगोलियाका पूर्व अध्यक्षलाई पेश्की दिएको उल्लेख भएपनि त्यो रकम अर्कैले बुझेको भेटिएको छ । विदेशी नागरिकलाई ३ करोड रुपैयाँ पेश्की दिएको बारेमा पनि छानविन गर्न परिपत्र गरेको एन्फाले जनाएको छ ।

पेश्की फ्र्छौट गर्न जिल्ला संघलाई ३५ दिनको परिपत्र समेत एन्फाले गरेको छ । पेश्की फस्र्यौट नगर्नेलाई कानूनी रुपले अघि जाने तयारी एन्फाको छ । 

प्रकाशित:माघ ४, २०७५

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्