कारागारमा क्षमताभन्दा पाँच गुणा बढी कैदीबन्दी

- दुर्गालाल केसी , दाङ
  • ५० जनाको मात्रै क्षमता भएको घोराही कारागारमा २७४ जना

माघ ४, २०७५

दाङका दुई कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी राखिएको छ । घोराही कारागारमा ५ गुणा बढी कैदीबन्दी छन् । ५० जनाको मात्रै क्षमता भएको घोराही कारागारमा २ सय ७४ जना छन् । १ सय ६६ सजाय तोकिएका कैदी र १ सय ८ जना मुद्दा चलिरहेका बन्दी रहेको कारागारका सूचना अधिकारी योगेन्द्र रिजालले बतनाउनुभयो ।

जसमध्ये ५ कैदी र २ थुनवा विदेशी नागरिक छन् । सबैभन्दा बढी कैदीबन्दी जबरजस्ती करणीका ८२ जना छन् । त्यसपछि कर्तव्य ज्यानका ७०, लागू औषधका २४, चोरीका २२, सवारी ज्यानका २१ र डाँकाचोरीका १३ जना छन् ।

अन्य अपहरण तथा शरीर बन्धक, ज्यान मार्ने उद्योग, ठगी, वनपैदावर तथा वन्यजन्तु, केही सार्वजनिक अपराध, सशस्त्र प्रहरी ऐन, गौबध, कुटपिट, हातहतियार तथा खरखजना, वैदेशिक रोजगार, सहकारी रकम हिनामिना र बहुविवाह मुद्दाका छन् ।

क्षमताभन्दा बढी राख्नुपर्दा पानी, शौचालय र खेलकुद जस्ता सेवामा समस्या हुने गरेको सूचना अधिकारी रिजालले बताउनुभयो । यसैगरी, तुलसीपुर कारागारमा ४ सय ११ कैदीबन्दी छन् । जसमा ३ सय ९५ कैदी, ११ थुनुवा र ५ आश्रित बालबालिका रहेको निमित्त जेलर जोखिम ओलीले बताउनुभयो ।

२०३८ सालमा निर्माण भएको पुरानो भवनमा १ सय जनाको क्षमता भए पनि १ सय ३७ पुरुष र ३२ महिला गरी १ सय ६९ जना राखिएको छ । २०७४ सालमा निर्माण भएको नयाँ भवनमा २ सय जनाको क्षमता भए पनि २ सय ४२ जना राखिएको ओलीले बताउनुभयो ।

तुलसीपुर कारागारको पुरानो भवनमा ७ जना विदेशी पनि छन् । कारागारमा सबैभन्दा बढी जबरजस्ती करणीका ३ विदेशी सहित १ सय ४३ जना छन् ।

यसैगरी, ९७ जना कर्तव्य ज्यानका, दुई विदेशी सहित ६२ जना लागूऔषध, एक विदेशी सहित २० जना अपहरण, १८ जना चोरी, एक विदेशी सहित १६ जना जीउ मास्नेबेच्ने र  बहुविवाहका १५ जना छन् । तुलसीपुरमा नयाँ र पुरानो भवनमा कैदीबन्दीलाई राखिएको छ ।

घोराही र तुलसीपुर कारागारको अवस्थाबारे मानव अधिकार तथा शान्ति समाजले अनुगमन गरेको छ । अनुगमनका क्रममा कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी राखिएको पाइएको समाजका सभापति शरद रेग्मीले बताउनुभयो ।

भिडभाड भएकाले बसाई, खानेपानी, सरसफाई, शौचालय, मनोरञ्जन र खेलकुदमा समस्या भएको उहाँले बताउनुभयो । महिला कैदीबन्दीहरुले महिला चिकित्सकबाट नियमित स्वास्थ्य जाँचको व्यवस्था हुनुपर्ने माग गरेको रेग्मीले बताउनुभयो ।

अनुगमनका क्रममा देखिएका समस्या समाधानका लागि पहल थाल्न कारागार प्रशासनलाई अनुरोध गरिएको समाजका केन्द्रीय महासचिव सुशिल बस्नेतले बताउनुभयो । 

प्रकाशित:माघ ४, २०७५

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्