प्रदेशको नामाकरण र स्थायी राजधानी विवाद चर्किदै  

- अमृता अनमोल, बुटवल

    माघ ५, २०७५

    प्रदेश ५ को नामाकरण र स्थायी राजधानीको विवाद चर्किदै गएको छ । प्रदेशको स्थायी राजधानी हालको मुकाम भएकै स्थान बुटवल राख्ने की दाङ भन्नेमा दलहरु विभाजित भएका छन् । विवाद चर्किंदै जाँदा दल विशेषले आफ्ना राय मात्रै प्रस्तुत गरेका छैनन् विभिन्न विरोधसभा र जनदबावका कार्यक्रम समेत आयोजना गर्न थालेका छन् ।

    नेपाली कांग्रेस रुपन्देहीले बिहीबार बुटवलमै राजधानी हुनुपर्ने र तत्काल नामाकरण गरिनुपर्ने भन्दै बृहत खबरदारी सभा आयोजना गर्‍यो । कांग्रेस सहित संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पाटी र राष्ट्रिय जनमोर्चाका प्रदेश सदस्यहरु बुटवलमै स्थायी राजधानी हुने पक्षमा खुलेर लागेका छन् ।

    नेकपाभित्र भने मत बाँझिएको छ । साविक लुम्बिनी अञ्चलका सदस्य बुटवल र त्यसबाहेकका सदस्य दाङ हुनुपर्ने पक्षमा छन् । यस्तोमा प्रदेश ५ को नाम र राजधानी सिफारिस गर्न गठन गरेको विशेष समितिले समेत गति लिन सकेको छैन ।

    २४ साउनमा गठन भएको सो समितिको १२ मंसिरसम्म प्रतिवेदन बुझाउनुपर्ने समय भएपनि अहिले पुन: तीन महिना समय थप भएको छ । समितिमा छुटेका बाँके, रुकुम (पूर्व) र नवलपरासीका सांसदले समितिमा छुटेका जिल्लाका सांसदको प्रतिनिधित्व गरेर मात्रै काम थाल्न दबाव दिएका छन् ।

    नेकपाका सांसद इन्द्रप्रसाद खरेलले प्रदेश राजधानी पायक पर्ने स्थानमा तोक्क विशेष समितिमा छुटेका तीन जिल्लाका सांसदको पनि प्रतिनिधित्व गराएर मात्रै काम थाल्नुपर्ने बताउनुभयो । 

    प्रकाशित:माघ ५, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्