अब पार्टी एक ढिक्का हुन्छ : सभापति देउवा

- प्रताप रानामगर, दमौली
  • पार्टीमा छाडातन्त्र मौलायो
पार्टीमा छाडातन्त्र मौलाएको भन्दै सभापति देउवाले अब छिट्टै अनुशासन समिति बनाएर यस्ता विकृत अन्त्य गर्ने उल्लेख गर्नुभयो । एउटा चुनाव हार्दैमा निराश नहुन र आगामी चुनाव जित्ने गरी तयारी गर्न कार्यकर्तालाई उहाँले निर्देशन दिनुभयो ।

माघ ६, २०७५

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुटउपगुटले पार्टीलाई क्षति पुर्‍याएको भन्दै एकतामा जोड दिनु भएको हो । नेपाली कांग्रेस तनहुँले दमौलीमा आइतबार आयोजना गरेको कार्यकर्ता भेटघाटमा सभापति देउवाले पार्टीलाई एक ढिक्का बनाएर लैजाने बताउनुभयो ।

‘गुटउपगुटले पार्टीलाई क्षति पुर्‍याएको छ, उहाँले भन्नुभयो, ‘महासमिति बैठकले पार्टीलाई एक ढिक्का बनाएको सन्देश दिएका छौं ।’ पार्टीमा एक ढिक्का भए कांग्रेसलाई कसैले पनि पराजित गर्न नसक्ने उहाँको तर्क थियो ।  

पार्टीमा छाडातन्त्र मौलाएको भन्दै सभापति देउवाले अब छिट्टै अनुशासन समिति बनाएर यस्ता विकृत अन्त्य गर्ने उल्लेख गर्नुभयो । एउटा चुनाव हार्दैमा निराश नहुन र आगामी चुनाव जित्ने गरी तयारी गर्न कार्यकर्तालाई उहाँले निर्देशन दिनुभयो ।

‘महासमितिको बैठकबाट पारित पार्टीको विधान उत्कृष्ट छ, उहाँले भन्नुभयो, ‘विधानलाई समावेशी गरेका छौं, कोटा पूरा गर्नका लागि पार्टी सदस्यताको आधार हुनुपर्छ ।’ 

पार्टीको अनुशासन भन्दा बाहिर गएर कसैले पनि काम गर्न नहुनेमा जोड दिनुभयो । कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले माघ ८ गते आयोजना गरेको कांग्रेस विशेष जिल्ला अधिवेशनको कुनै औचित्य नभएको सभापति देउवाले बताउनुभयो ।

पार्टीको विधान विपरीत जिल्लाको विशेष अधिवेशन भएकाले जोशीलाई विशेष जिल्ला अधिवेशन रोक्न देउवाले आग्रह गर्नुभयो । विशेष अधिवेशनका नाममा फैलाइएको हल्लाको पछाडि नलाग्न आग्रह गर्दै सभापति देउवाले केही गुनासा भए पार्टीभित्रै बसेर छलफल गर्नुपर्ने बताउनुभयो । विधान बाहिर गएर सञ्चालन हुने गतिविधिलाई पार्टीले मान्यता नदिने उहाँको तर्क थियो । 

तनहुँको शुक्लागण्डकीमा रहेको बीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र खारेज हुन नदिने भन्दै उहाँले सरकार खारेजको बाटो लागे आन्दोलन गर्न समेत कार्यकर्तालाई निर्देशन दिनुभयो । पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले सरकार हत्या, हिंसा र बलात्कारका दोषीलाई कारबाही गर्न असफल भएको भन्दै सरकारको क्रियाकलाप विरुद्ध आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिनुभयो ।  

कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले आन्तरिक एकता नहुनु नै कांग्रेसको हारको मुख्य कारण भएको बताउनुभयो । कम्युनिष्ट पार्टी मिलेर मात्रै नभई पार्टीभित्रै एकता नहुँदा पार्टी यो अवस्थामा पुगेको उहाँले बताउनुभयो ।  

प्रकाशित:माघ ६, २०७५

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्