श्रम स्वीकृति अब सुर्खेतबाटै

- ज्योति कटुवाल , वीरेन्द्रनगर

    माघ ६, २०७५

    सरकारले कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट श्रम स्वीकृति सेवा सुरु भएको छ । वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई केन्द्रित गर्दै आइतबारदेखि स्वीकृति दिन थालिएको हो । कर्णाली प्रदेशको श्रम तथा रोजगार कार्यालयबाट श्रम स्वीकृतिका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले पुन: श्रम स्वीकृतिको पासपोर्ट दिएर सेवाको उद्घाटन गर्नुभयो ।  

    श्रम स्वीकृतिको व्यवस्था भएसँगै राजधानी धाउनुपर्ने अवस्थाको अन्त्य भएको कार्यालय प्रमुख श्यामकृष्ण आचार्यले बताउनुभयो । उहाँका अनुसार अब विदेशमा गएर छुट्टिमा आउनेले पुन: श्रम स्वीकृति लिएर सोही देशमा जान पाउने छन् ।

    ‘वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिने व्यवस्था एकै ठाउँबाट मात्र हुँदा सेवाग्राहीले निकै झन्झट व्यहोर्नु परिरहेको थियो,’ उहाँले भन्नुभयो, ‘सेवाग्राहीको भीड अत्यधिक भएको अवस्थामा प्रहरीले हस्तक्षेप गर्नुपर्ने अवस्था समेत थियो, सुर्खेतबाट उक्त काम सुरु भएपछि सेवाग्राहीलाई खर्च र समयको बचत हुनेछ ।’

    कर्णालीमा श्रम स्वीकृति सेवा सुरु भएसँगै सेवाग्राही तथा वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुको काम छिटो हुने र अनावश्यक सास्ती कम हुने उहाँको भनाइ छ । 

    प्रकाशित:माघ ६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्