संसदमा चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्यसूची

- रेडियो कान्तिपुर, काठमाडौं

    माघ ८, २०७५

    - सरकारले आज पनि प्रतिनिधि सभामा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित सहितको कार्यसूची तय गरेको छ । बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । प्रमुख प्रतिपक्ष कांग्रेसको अवरोधका कारण स्थगित हिजोको बैठकका लागि तय कार्यसूचीलाई नै आजको बैठकमा समेत निरन्तरता दिने संघीय संसद सचिवालयले जनाएको छ ।

    त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीको अनसनकैबीच सरकारले चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेको छ । चिकित्सा शिक्षा विधेयक पारित गर्नेसँगै लोक सेवा आयोग विधेयक, नेपाल प्रहरी र प्रदेश प्रहरी, कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय विधेयक, विशेष आर्थिक क्षेत्र पहिलो संसोधन विधेयक र भूउपयोग विधेयक टेवल गर्ने कार्यसुची रहेको सचिवालयका सहप्रवक्ता केशव अर्यालले जानकारी दिनुभयो ।

    प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने आफ्ना माग सम्वोधन नभएसम्म आजको बैठक पनि चल्न नदिने बताएको छ । कांग्रेसका पूर्व सभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएका अस्पताल कुन निकायले सञ्चालन गर्ने भन्ने सरकारले स्पष्ट पानुपर्ने कांग्रेसले अडान लिएको छ । अहिले प्रदेश सरकार पूर्ण अधिकार सम्पन्न भई नसकेकाले दुबै अस्पताल केन्द्र सरकारकै मातहतमा हुनुपर्ने उसको माग छ ।

    यस्तै त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीले उठाएका माग सम्वोधन गर्नुपर्ने पनि कांग्रेसले अडान लिएको छ । चिकित्सा शिक्षा विधेयकमा भएको व्यवस्था अनुसार डा. केसीको माग सम्बोधन नभएको कांग्रेसको तर्क छ । कांग्रेसले यसअघि हिजो पनि संघीय संसदका दुबै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक अवरुद्ध गरेको थियो । 

    प्रकाशित:माघ ८, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्