चियावाला निर्देशक भन्छन् – ‘गरि खान किन लाज मान्ने ?’

- रामजी ज्ञवाली , काठमाडौं

    माघ २०, २०७५

    मालतीको भट्टी, मन्जरी, गाँजाबाँजा लगायतका चलचित्र निर्देशन गरिसकेका छन्, गणेशदेव पाण्डे । निर्देशन सम्बन्धी अध्ययन गरेर भारतवाट नेपाल फर्किएका पाण्डेले लगातार केहि चलचित्र दिए । दर्शकले मन पराए । तर उनी त एकाएक चिया बेच्न वागमती किनार पो लागेछन् ! आखिर चलचित्र बजारवाट एकाएक गुमनाम भएर उनि किन चिया बेच्न थाले ? धेरैका लागी कौतुहलताको विषय बन्न सक्छ । हालै रामजी ज्ञवाली बागमती करिडोरमा भर्खरै खुलेको उनको क्याफे, ‘चियावाला’ पुगेर छोटो–मिठो गफ गरेका छन् ।

    तपाई त निर्देशन क्षेत्रमा नाम चलेको मान्छे, चियावाला पो हुनुभएछ है ?

    हाहाहा., हो त भन्या । विदेशीहरु आएर नेपालमा चिया–कफि बेचेर लाखौं कमाएका छन् । हामी आफै आफ्नै देशमा काम गरेर खान पनि किन लाज मान्नु ? एकछिन है, लेट्स स्टार्ट वीथ टी † (यति भन्दै उनि चिया बसाल्न गए, केहि मिनेटमै आयो चिया)

    यो चियाको पहिरन त टिपिकल गाउँले जस्तो छ नी ?

    गाउँले लोकल चिया हो भन्दा गलत हुन्न । यहाँ सर्वाधिक बिक्री हुने चिया हो यो । यसको नाम घनश्याम चिया हो । यो नाम म आफै राखिदिएको हुँ ।

    घनश्याम चिया ?

    अचम्म मान्नु पर्दैन । घनश्याम मेरो बुबाको नाम हो । बुबाले ४० वर्ष चिया बेच्नुभएको थियो । बुबाले चिया बनाउन सिकाएको कारण उहाँको नामवाटै यो चियाको नाम राखिदिएको हुँ ।

    मान खोज्ने पेशामा लागेको मान्छे, कसरी चिया बेच्ने हिम्मत आयो ?

    साच्चीकै मलाई यो प्रश्न धेरैले सोधेका छन् । तर अहिले भन्नैपर्छ, म स्वार्थी छु । जहाँ खुसी मिल्छ त्यहाँ काम गर्न रमाइलो लाग्छ । हिजो चलचित्रमा पनि आफ्नै खुसीले लागेको थिए, अहिले चिया बेच्न वागमती किनारमा पनि म आफ्नै खुसीले लागेको हुँ ।

    अब चलचित्र निर्देशन नगर्ने ?

    मैले चलचित्र निर्देशन पेशा छोडेर चिया बेच्न आएको हैन । तर, अहिले तत्कालै जे गरिरहेको छु, त्यसमा असाध्यै खुसी छु । चलचित्रको निर्देशन र निर्माण गरिसकेका कारण चलचित्र निर्माण गर्न खासै गाह्रो छैन ।

    चलचित्रको रङ वा चियाको रङ, कुनमा घुल्दा मज्जा आउँदोरहेछ ?

    मलाई यही भन्ने छैन । म जे गरिरहेको छु, त्यसमा रमाइलो र खुसीले काम गर्छु । एउटा कुरा के भन्छु भने, चिया होस् या चलचित्र दुवैको रङ कडक चाहिन्छ, दुवैमा रमाइरहेको छु ।

    बिहान कतिबेला आउनुहुन्छ ?

    विहान ६ देखी ७ वजे आउछौं । साँझ लगभग ९ बजे फर्किन्छौं ।

    दिनभरीमा कति कप चिया विक्री हुँदोरहेछ ?

    ४ देखि ५ सय कपसम्म बिक्री भैरहेको छ । कहिलेकाहिँ घटवढ हुन्छ ।

    वोर्डमा केही मिठो बात गर, वाइफाई त घरमा छँदैछ भन्ने लेखिएको छ, ग्राहकहरु वाइफाई माग्दैनन् ?

    मैले वाइफाई माग्नुहुन्छ भनेरै त्यहाँ लेखिदिएको छु । तर हाम्रो जीवन असाध्यैे इन्टरनेटमय भइसकेको रहेछ । कतिपयले यहाँ छिर्ने वित्तीकै वाइफाई छैन दाई ? भन्नुहुन्छ । वोर्डमा लेखिएको हेरेपछि चुप लाग्नुहुन्छ । हामी चिया खान आएका छौं, चिया खाने अनि जाने हो नी ! जतिवेला पनि ईन्टरनेटमा झुण्डिने हैन, चियावालामा आएपछि एकछिन साथीभाईहरुसँग गफ गरेर विताउने, भलाकुसारी गर्नुस् न ।

    कस्ता खालका ग्राहक बढि आउनुहुन्छ ?

    यस्तै खालका भन्ने त छैन । तर, चिया पियक्कडहरू चियाको चुस्की लगाउन आएको देखेको छु ।

    चिया मात्रै बेच्नुहुन्छ या अरु पनि ?

    वन्ली चिया, नट एनिथिङ । गर्मिमा कोल्ड टि, जाडोमा हट । चियाकै साथी पाउरोटी, ओट मिल, नमकिन लगायत भने बेच्छौं ।

    चिया खाएपछि ग्राहकले के भन्नुहुन्छ ?

    तपाइले असली चिया बेच्नुहुँदोरहेछ भन्नुहुन्छ । यहाँ बन्ने चियामा दूध, चिनी र चियापत्ति बाहेक अन्य मसला राखिदैन । पानी धेरै राखेर हल्का सेतो रङ मात्रै राखेर ग्राहक ठग्न हुदैन भन्ने कुरामा हामी सचेत छौं ।

    वोर्डमा १९५६ देखी संचालित भनिएको छ, यसको अर्थ के हो ?

    मैले अघि बुबाले चिया बेच्नुहुन्थ्यो त भनें तर धेरैलाइ के कुरा थाहा छैन भने मेरो हजुरबुबा यज्ञप्रसादले पनि चियाको व्यवसाय गर्नुहुन्थ्यो । सोहि कारण चियावालाको संचालन मितिलाई हजुरबुबाको पालादेखी संचालन भएको हो भन्ने बताउन पनि उक्त मिती राखेको हुँ ।

    चियाको सुचि हेर्दा निकै लामो छ त ?

    मिल्क, ब्ल्याक, स्पेसल लगायत गरी २९ प्रकारका चिया बेच्छौं, मौका मिल्यो भने अरु चिया पनि टेष्ट गराउँछु नी है ।

    एक कप चियाको कति पर्छ ?

    अहिले तपाइले खाइरहेको ४० रुपैयाँको टि हो । यहाँ ४० देखि ८ सय रुपैयाँको ब्लुमिङ टीसम्म पाइन्छ । भ्रखरै एउटा टिम बसेर १४ सयको चिया खाएर जानुभएको छ ।

    जागिरको खोजीमा गल्ली–गल्ली चाहार्ने युवाहरुलाई केहि भनिदिनुस् न ?

    ब्रो, मैले भन्नुपर्ने केहि छैन । हामी विदेशमा जे पनि गर्न तयार हुन्छौं । आफ्नै देशमा काम गर्न लाज मान्छौ । तर त्यसो गर्नुहुँदैन । साच्चीकै भन्नेहो भने विदेशमा जे गर्छौ, त्यो काम नेपालमा गर्न सक्नेहो भने दाम्मी हुन्थ्यो ।

    प्रकाशित:माघ २०, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्