४ हजार किलो सुन तस्करी प्रकरणमा संलग्न थप एक पक्राउ

- प्रिन्स गौतम, काठमाडौं
    वैदेशिक रोजगारीको शिलशिलामा यूएई छिरेका खड्का रेष्टुरेण्ट व्यवसायको आवरणमा त्यहाँ बसेर सुन तस्करी तथा हुन्डीको कारोबारमा संलग्न रहेको दाबी समितिको थियो ।

    माघ २२, २०७५

    ४ हजार किलो सुन तस्करी र मोरङका सनम शाक्य हत्या प्रकरणमा जोडिएका हरिशरण खड्का संयुक्त अरब इमिरेटस यूएईमा पक्राउ परेका छन् । नेपाल प्रहरीको आग्रहमा यूएईको प्रहरीले उनलाई पक्राउ गरेको हो । खड्काविरुद्ध इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी भएको थियो ।

    यूएईबाट सुन किनेर नेपाल पठाउन खड्काहितको समूहले भूमिका खेलेको सरकारले गठन गरेको विशेष छानविन समितिको अनुसन्धानले देखाएको थियो । प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो, ‘दुवइ प्रहरीले हरिशणलाई पक्राउ गरेको हो, उनलाई नेपाल ल्याउने तयारी भइरहेको छ ।’

    वैदेशिक रोजगारीको शिलशिलामा यूएई छिरेका खड्का रेष्टुरेण्ट व्यवसायको आवरणमा त्यहाँ बसेर सुन तस्करी तथा हुन्डीको कारोबारमा संलग्न रहेको दाबी समितिको थियो । उनलाई ‘डिपोर्ट’ गराएर नेपाल ल्याउने तयारी भइरहेको प्रहरी उच्च स्रोतले जनाएको छ ।

    स्रोतका अनुसार यूएई प्रहरीले खड्काविरुद्धको अभियोग पत्र मागेको थियो । काभ्रे घर भएका खड्कालाई फरार प्रतिवादी बनाई जिल्ला प्रहरी कार्यालय मोरङले गत बैशाख १८ गते जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

    इन्टरपोल नेपाल शाखाको सिफारिसमा खड्कासहित मुख्य लगानीकर्ता भनिएका एमके भनिने मोहनकुमार अग्रवाल, बेनु श्रेष्ठविरुद्ध नोटिस जारी गरेको थियो ।

    सहसचिव ईश्वरराज पौडेल नेतृत्वको विशेष अनुसन्धान समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गोरे भनिने चुडामणी उप्रेती समूहले ४ हजार किलो सुन तस्करी गरेको रहस्योद्घाटन गरेको थियो । ४ हजार किलो सुन तस्करीका मुख्य लगानीकर्ता भनिएका एमके भने अझै  पक्राउ परेका छैन् ।   

    प्रकाशित:माघ २२, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्