दार्चुला महोत्सव सुरु, तिंकर नाका सञ्चालनमा जोड

- मनोज बडू, दार्चुला

    माघ २५, २०७५

    दार्चुला उद्योग वाणिज्य संघको आयोजनामा सुदूरपश्चिम पर्यटन व्यापार मेला तथा दार्चुला महोत्सव २०७५ को सुरु भएको छ । अपीनाम्पा, चौलानी र महाकालीको काश, कैलाश मालिकार्जुन आगन दार्चुलाको शाख भन्ने मुख्य नाराका साथ शुक्रबारबाट सदरमुकाम खलंगामा महोत्सवको आयोजना गरिएको हो । दोस्रो पटक जिल्लामा आयोजना गरेको पर्यटन व्यापार मेलाको प्रतिनिधिसभा सदस्य गणेशसिह ठगुन्नाले उद्घाटन गर्नुभयो । 

    त्रिदेशीय सीमामा अवस्थित जिल्लाको पर्यटन, व्यापार, संस्कृतिको प्रवर्धन गर्न महोत्सवको आयोजना गरिएको हो । स्थानीय वस्तुको व्यापार प्रवर्धन तथा स्थानीयस्तरमा लुकेका कला संस्कृतिको प्रचार एवं विकास गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।

    त्रिदेशीय सीमा क्षेत्रमा अवस्थित जिल्लामा पाइने विभिन्न प्रकारका बहुमूल्य जडीबुटीहरु, ऊन तथा अल्लोबाट बनेका तयारी पोशाक र जिल्लाको कला संस्कृतिलाई दर्साउने उद्देश्यले महोत्सव माध्यम बन्ने आयोजकले अपेक्षा गरेको छ । 

    उद्योग तथा पर्यटन क्षेत्रको प्रबद्र्धन र विकासमा यस्ता मेला महोत्सवको आयोजनाले सकारात्मक प्रभाव पार्ने अपेक्षा लिएका छौ । ‘सीमावर्ती भारतीय क्षेत्रसित जिल्लाको प्रत्यक्ष सम्पर्क रहेको छ’ संघका अध्यक्ष मंगलसिह ठगुन्नाले भन्नुभयो, ‘यस्ता पर्यटन महोत्सवको माध्यमबाट प्रचार हुनु आवश्यक देखिन्छ ।’

    सुदूरपश्चिम प्रदेशको राजधानी एवं यो प्रदेशको व्यापारिक केन्द्र महेन्द्रनगर बजारलाई चिनसंगै जोड्ने तिंकर सडक हो । यो सडकलाई चाडो निर्माण गरी यहाको धार्मिक पर्यटन र व्यापारलाई चिनसंग जोड्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    महोत्सव सफलताको शुभकामना दिने सबै क्षेत्रका व्यक्तिहरुले संघीय सरकारले निर्माण गरिरहेको महाकाली कोरिडोर अन्तर्गतको तिंकर सडक विगत १० वर्षदेखि निर्माण थालनी भएपनि अपेक्षाकृत रुपमा अगाडि नबढ्दा स्थानीय निराश भएको प्रति लक्ष्ति गर्दै यो सडकलाई चाडो सम्पन्न गर्न नेपाली सेनालाई सडक निर्माणको जिम्मा दिन सरकारसंग माग गरेका छन् । भारत र चीनसंगै व्यापारिक नाका जोड्ने सुदूरपश्चिमको महत्वपूर्ण र दार्चुलाको विकासको मेरुदण्डको तिंकरलाई दिन सकिने अधिकांश वक्ताहरुको भनाई थियो । 

    नेपाल–भारतबीचको आपसी भाईचारा सम्बन्ध बढाउने र दुई देशबीच व्यापार प्रवर्धन गर्न यो महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने दुबै देशका व्यवसायीले लिएका छन् । महोत्सवले पश्चिम क्षेत्र तथा प्रदेश नम्बरको प्रमुख व्यापारिक नाका तथा धार्मिक पर्यटकीय मार्ग तिंकर नाका खुलाउने पर्ने महोत्सवमा बोल्ने अधिकांशको भनाई छ ।

    यो नाका खोल्न सके दार्चुला व्यापारिक केन्द्रबिन्दुमा जोड्ने छ । महोत्सवमा धारचुला व्यापार मण्डलका अध्यक्ष भुपेन्द्र थापाले दुई देशको व्यापार बढाउन नेपाल–भारत जोड्ने मोटेरेबल पुल छिटो निर्माण गर्न आफूहरुले पहल गर्न सहयोग गर्ने बताउनुभयो । 

    जिल्लाका ऐतिहासिक धार्मिक पर्यटकीय स्थल, मानसरोवर पर्यटन मार्ग, व्यापार, कृषि, जडिबुटी, पशुपालन लगायत सम्भावित सबै क्षेत्रको विकासमा महोत्सवले सहयोग पुर्‍याउने अधिकांश वक्ताहरुले बताएका छन् ।

    महोत्सवमा यहाँ उत्पादित स्थानीय हस्तकलाका वस्तु, ऊनी तथा अल्लोलाई तानमा बुनेर उत्पादन गरिएका     वस्तु, निगालोबाट उत्पादित डोकाडालो, प्रमुख पर्यटकीय स्थलहरुको फोटो प्रदर्शनी तथा देशी तथा विदेशी लत्ताकपडा, इलेक्ट्रोनिक लगायतका समानका एक सय वटा स्टलहरु राखिएका छन् । 

    दार्चुला महोत्सव संचालनमा जिल्लाका ९ वटै स्थानीय तहहरुले सहयोग रहेको थियो । आगामी फागुन ५ गतेसम्म संचालन हुने महोत्सवमा करोड बढीको कारोबार हुने र महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरुबाट सांस्कृतिक कार्यक्रमहरु राखिएका छन् । 

    प्रकाशित:माघ २५, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्