थाइल्याण्डकी राजकुमारीको निर्णयप्रति राजपरिवार नै असन्तुष्ट

- रेडियो कान्तिपुर,

    माघ २६, २०७५

    - थाइल्याण्डका राजा महा वजिराङकोर्नले आफ्नी दिदी उबोलरताना माहिडोलले प्रधानमन्त्रीमा दिएको उम्मेदवारी अनुचित रहेको भन्दै विरोध गर्नुभएको छ । आगामी मार्चमा हुने आम निर्वाचनमा उम्मेदवारी दिने राजकुमारी माहिडोलको निर्णय राज घरानाको परम्परा विपरित रहेको थाइल्याण्डका राजाको भनाई छ ।

    थाइल्याण्डको राजपरिवार राजनीतिबाट टाढा रहने परम्परालाई तोड्दै राजकुमारी माहिडोलले उम्मेदवारी दिनुभएको हो । थाईल्याण्डका राजाले जारी गरेको वक्तव्यमा राजपरिवार राजनीतिक तटस्थता कायम गर्न प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ । राजा वजिराङकोर्नको विरोधका कारण थाइल्याण्डको निर्वाचन आयोगले राजकुमारी माहिडोलको उम्मेदवारी खारेज गर्न सक्ने  सम्भावना रहेको बीबीसीले उल्लेख गरेको छ ।

    ६७ वर्षिय राजकुमारी माहिडोलले भ्रष्टाचारको आरोपमा पदच्युत भएका प्रधानमन्त्री थाक्सिन सिनावात्राको राजनीतिक गठबन्धन रहेको पार्टीबाट उम्मेदवारी दिनुभएको हो ।  स्वर्गीय राजा भुमिबोल अदुल्यादेजकी छोरी राजकुमारी माहिडोलले सन् १९७२ मा अमेरिकी नागरिकसँग विवाह गर्दै राजपरिवारको पद छोड्नुभएको थियो तर  अमेरिकी नागरिकसँग सम्बन्ध विच्छेदपछि राजकुमारी पुन: थाईल्याण्ड फर्किएर राजपरिवारका जीवनयापन गर्दै आउनुभएको छ ।  

    प्रकाशित:माघ २६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्