कृषि मेलामा ४० लाखको कारोबार, ५० हजार सहभागी

- घनश्याम गौतम, रूपन्देही

    माघ २६, २०७५

    प्रदेश ५ को भूमि व्यबस्था कृषि तथा सहकारी मन्त्रालय र बुटवल उद्योग वाणिज्य संघको आयोजनामा बुटवलमा सन्चालित कृषि मेला ४० लाख रुपैयाँको कारोबार गर्दै आज सकिएको छ । मेला झण्डै ५० हजारले अवलोकन गरेका छन् ।

    कृषिलाई प्रविधि र बजारलाई किसानसँग जोड्न मेला सफल भएको आयोजक संस्था वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले बताउनुभयो । मेलाको समापन गर्दै बुटवल नगरपालिकाका प्रमुख शिवराज सुवेदीले कृषिको व्यवसायिक विकास बिना मुलुकको समृद्धि सम्भव नभएको बताउनुभयो ।

    मेलामा सहभागि स्टल मध्ये लुम्बिनी हाईड्रो पोनिक्स प्रथम, प्रेम निशा अल्लो धागो तथा तयारी पोशाक र गुप्ता नर्सरी द्वितीय, कृषि संग्रालय र माडी टर्की फार्म तृतीय तथा देउराली प्राविधिक शिक्षालय, लुम्बिनी बोर्डिङ, एग्रोपार्क एण्ड रिसर्च सेन्टर, नेपाल ट्रेड होस्ट प्रालि, र नेशनल रेफ्रिजरेटर सान्त्वना भएको मुल्याङ्कन समिति सदस्य बसन्त ढकालले जानकारी दिनु भएको छ । सहभागी मध्यबाट उत्कृष्ट भएका स्टललाई सम्मान सहित पुरस्कार प्रदान गरिएको थियो । 

    मेलामा कृषि उत्पादन तर्फ सहमागी ८६ स्टललाई विधागत रुपमा ११ विधामा विभाजित गरेर प्रत्येक विधामा प्रथम, द्वितीय र तृतीय छनौट गरिएको थियो । कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव यामनारायण देवकोटाले कृषि तथा पशुपालन व्यवसाय गर्न चाहने किसानलाई प्रदेश सरकारले विशेष व्यवस्था गरेको बताउनुभयो ।

    मेलाको माघ २१ गते मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्नु भएको थियो । मेलामा कृषि केन्द्रित अन्तरविद्यालय स्तरीय वादविवाद, वक्तृत्वकला तथा कविता वाचन प्रतियोगिता, दुग्धपान प्रतियोगिता, मत्स्य बल्छी प्रतियोगिता तथा विभिन्न गोष्ठी र माटो परीक्षण शिविर समेत संचालन गरिएको थियो ।

    प्रकाशित:माघ २६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्