कालीमाटी तरकारी बजारमा दैनिक ४ करोडको कारोबार 

- रेडियो कान्तिपुर, काठमाडौं
  • ५ महिनामा चार करोड रुपैयाँ बढी आम्दानी

माघ २६, २०७५

काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजारमा दैनिक ७ सय मेट्रिक टन तरकारी तथा फलफूल भित्रिने गरेको छ । मुलुकका विभिन्न जिल्ला तथा छिमेकी मुलुक भारत र चीनबाट दैनिक रुपमा सो परिमाण बराबरको तरकारी तथा फलफूल बजार भित्रिने गरेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

बजारमा दैनिक भित्रिने तरकारी मध्ये सबै भन्दा बढी भारत र चीनबाट आयात भएका तरकारी रहेका छन् । स्वदेशी उत्पादन पर्याप्त भएपनि विदेशबाट समेत अत्यधिक मात्रामा तरकारी आयात हुने गरेको छ । चालू आर्थिक वर्षको पुष मसान्त सम्ममा १ लाख २८ हजार ३ सय १८ मेट्रिक टन तरकारी भित्रिएको समितिले जनाएको छ । 

यस वर्षको पुष सम्ममा भारतबाट मात्रै ४२ दशमलव ४९ प्रतिशत तरकारी बजारमा भित्रिएको समितिको तथ्याङ्क छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा काठमाडौं, ललितपुर भक्तपुर, काभ्रे, तनहुँ, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, चितवन, सलार्ही, रामेछाप, गोरखा, पर्सा लगायतका जिल्ला तथा भारत र चीनबाट समेत अत्यधिक मात्रामा तरकारी तथा फलफूल भित्रिने गरेको छ । 

गत आर्थिक वर्षमा विभिन्न जिल्ला तथा छिमेकी मुलुक भारत र चीनबाट गरी २ लाख २७ हजार ६ सय ४५ मेट्रिक टन तरकारी तथा फलफूल बजारमा भित्रिएको समितिले जनाएको छ । बजारमा दैनिक ४ करोड रुपैयाँ सम्म कारोबार हुने गरेको समितिले जनाएको छ । 

यस्तै, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले चालू आर्थिक वर्षको ५ महिनामा चार करोड रुपैयाँ बढी आम्दानी गरेको छ । चालू आर्थिक वर्षको पुष मसान्त सम्ममा चार करोड ८९ लाख ६७ हजार ३ सय ५२ रुपैयाँ बराबरको आम्दानी भएको समितिले जनाएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा ९ करोड ६५ लाख ७ सय ९६ रुपैयाँ आम्दानी भएको समितिले जनाएको छ । बजारमा रहेका स्टल लगायतबाट सो रकम संकलन भएको समितिका उपनिर्देशक विनय श्रेष्ठले बताउनुभयो ।

कालीमाटी फलफूल तथा तरकारी बजारमा दैनिक चार करोड रुपैयाँ सम्मको कारोबार हुने गरेको समितिले जनाएको छ । कालीमाटी बजारमा थोक व्यवसायी, सहकारी र कृषक समूह, खुद्रा, माछा तथा फलफूल लगायत गरी कुल ५ सय ३९ वटा स्टलहरु रहेका छन् । 

प्रकाशित:माघ २६, २०७५

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्