बी डिभिजन लिगमा आरसीटी र पुल्चोक स्पोटर्स क्लब विजयी

- रेडियो कान्तिपुर, ललितपुर

    माघ २७, २०७५

    शहिद स्मारक बी डिभिजन लिगमा आज रानी पोखरी कर्नर टीम आरसिटी र पुल्चोक स्पोटर्स क्लबले जित हात पारेका छन् । लिगको आजको पहिलो खेलमा नयाँ वस्ती युवा क्लबलाई ३–१ ले हराउँदै आरसीटीले ३ अंक जोड्यो ।

    ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नयाँ वस्तीले दोस्रो मिनेटमा नै अग्रता बनाएको थियो । शनि कुमार चौधरीले नयाँ वस्तीलाई दिलाएको अग्रता लामो समय टिकेन । पहिलो हाफको २९ औं मिनेटमा पुकार आलेले आरसीटीका लागि पेनाल्टीमा बराबरी गोल फर्काए ।

    दोस्रो हाफको ५१ औं र इन्जुरी समयमा संसारनन्द पलाञ्चोकेले गोल थपेपछि आरसीटी ३–१ ले विजयी भयो । 

    आजै भएको अर्को खेलमा पुल्चोक स्पोटर्स क्लबले स्पार्क हस्पिटल बाँसबारी क्लबलाई ३–१ ले हरायो । पुल्चोकका लागि टीकाराज गुरुङले १७ औं मिनेटमा अग्रता दिलाए ।

    दोस्रो हाफको सुरुमै बाँसबारीले नवीन थापाको गोलबाट खेलमा बराबरी गर्‍यो । तर, रामकाजी कुमाले ५२ औं र इन्जुरी समयमा सुशील गुरुङ्गले गोल थपेपछि पुल्चोकले ३ अंक हात पार्‍यो । 

    प्रकाशित:माघ २७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्