कार्यान्वयन भएन स्टलको सम्झौता खारेज गर्ने सरकारी निर्णय

- रेडियो कान्तिपुर, काठमाडौं
  • कालीमाटी फलफूल तथा तरकारी बजारमा व्यवसायीको दादगिरी

माघ २७, २०७५

काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजारमा नियम विपरीत सञ्चालनमा रहेका स्टलको सम्झौता खारेज गर्ने सरकारी निर्णय लामो समय बितिसक्दा पनि कार्यान्वयन हुन सकेको छैन । व्यवसायीले आफ्नो नाममा स्टल भाडामा लिएर बढी मूल्यमा अरुलाई भाडामा दिएको पाइएपछि सरकाले बजार अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिसँग भएको सम्झौता विपरीत सञ्चालनमा रहेको पाइएपछि बजारका ५७ वटा स्टललाई तत्काल खारेज गर्ने निर्णय गरेको थियो । तर कालीमाटी तरकारी बजारमा हाल पनि तिनै स्टलहरु सञ्चालनमा छन् । खाजेर भएका स्टल खाली गराउँन पटक पटक सूचना जारी गर्दा समेत व्यवयासीले अटेर गरेको समितिका कार्यकारी निर्देशक तेजेन्द्र पौडेलले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘कालीमाटी बजारको इतिहासमा व्यवसायीबाट अनियमित किसिमले स्टलहरु सञ्चालन गरिएको अवस्थाको अनुगमन गरेर कारबाहीको सिफारिस गरेको यो पहिलो पटक हो । व्यवसायीलाई ठाउँ खाली गर्न सूचना जारी गरेका छौं तरपनि उहाँहरुले अटेर गरेर बसिरहनु भएको छ । फेरि पनि हामी सूचना जारी गछौं । अब पनि अटेर गर्‍यो भने यसमा हामी प्रसाशनिक कारबाही गछौं ।’

खारेज भएका स्टल खाली गराउन छिटै नै अर्को निर्णय गर्ने भन्दै सोको तयारी भइरहेको पनि समितिका कार्यकारी निर्देशक पौडेलले बताउनुभयो । हस्तक्षेप गर्न नपरोस् भन्ने हिसाबले सूचना जारी गरी व्यवसायीलाई स्टल खाली गराउन भनेको उहाँले बताउनुभयो ।

बजारमा रहेका ६ सय ७ जना व्यवयासीको स्टलको अनुगमन पश्चात वर्गीकरण गरी कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिसँग भएको सम्झौता विपरीत स्टल सञ्चालनमा ९८ वटा स्टललाई रातो सूचीमा राखिएको थियो ।

रातो सूचीमा राखिएको व्यवसायीसँग स्पष्टिकरण सोधेपछि ५७ जना व्यवसायीले आफ्नो नाममा स्टल भाडामा लिएर बढी मूल्यमा अरुलाई दिएको भेटिएपछि उनीहरुको सम्झौता खारेज गरेको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बजारमा विचौलीयाको प्रभाव हटाउन भन्दै गत असोजमा कालीमाटी तरकारी बजारमा नियम विपरीत सञ्चालित स्टलको सम्झौता खारेज गरेको थियो । 

प्रकाशित:माघ २७, २०७५

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्