त्रिशूली थ्री बी जलविद्युत आयोजनाको निर्माण सुरु

- कृष्ण थापा, नुवाकोट

    माघ २७, २०७५

    नुवाकोटमा ३७ मेगावाट क्षमताको त्रिशूली थ्री बी जलविद्युत आयोजनाको निर्माण सुरु भएको छ । ३७ मेगावाट क्षमताको सो आयोजना नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमको मुख्य लगानीमा निर्माण हुन लागेको हो ।

    किस्पाङ गाउँपालिका–५ पैरेबेसीमा निर्माण हुन लागेको सो आयोजनाको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले शिलान्यास गर्नुभयो । आयोजनाको शिलान्यास गर्दै मन्त्री पुनले समयमा सम्पन्न गरेर जनताको विश्वास जित्ने बताउनुभयो ।

    नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको सेयर धनी, नारा अन्तर्गत जनताको जलविद्युत आयोजना प्रधानमन्त्रीबाट उद्घाटन गर्न गइरहेको उहाँले जानकारी दिनुभयो । पछिल्लो समय धितो बोर्डको नियमावलीलाई संशोधन गरेर सरकारले आयोजनाहरुको कार्यविधिहरु सजिलो पार्ने प्रक्रिया अगाडि बढाइने मन्त्री पुनले बताउनुभयो ।

    लगानी बोर्ड ऐन, निजी साझेदारी सम्बन्धी ऐन, बुट सम्बन्धी ऐन लगायत ऐनहरुलाई एउटा छाता ऐनको रुपमा निर्माण गरी कानून निर्माण अगाडि बढाएको उहाँले बताउनुभयो । आगामी मार्चमा लगानी सम्मेलन गर्न गइरहेको जानकारी दिंदै उहाँले सम्मेलन अगावै ती ऐन तयार गरिने बताउनुभयो ।

    इन्जिनियरिङ, खरिद तथा निर्माण इपीसी मोडेलमा बन्न लागेको सो आयोजना चिनियाँ कम्पनी सिचुआन एएनएचई हाइड्रो इलेक्ट्रिक इन्जिनियरिङसँग ठेक्का सम्झौता भएको छ ।

    यो आयोजना ३ वर्ष भित्रमा निर्माण सक्ने लक्ष्य रहेको छ । यो आयोजना नुवाकोट र रसुवामा निर्माण भइरहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री एको क्यास्केड आयोजना हो । 

    प्रकाशित:माघ २७, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्