वीपी उद्यानका लागि छुट्याइएको जग्गामा पार्क बनाउने निर्णय प्रति कांग्रेसले आपत्ति

- रेडियो कान्तिपुर, काठमाडौं
  • वीपी उद्यान नै निर्माण गर्न दुबै सरकरलाई आग्रह
यही माघ १६ गते प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्यानको जग्गामा शहिद पार्क बनाउने भन्दै शिलान्यास गर्नुभएको थियो ।

माघ २७, २०७५

पर्साको वीरगञ्जमा वीपी उद्यान निर्माण गर्न छुट्याइएको जग्गामा प्रदेश २ सरकारले शहिद स्मृति पार्क बनाउन लागेको प्रति नेपाली कांग्रेसले आपत्ति जनाउँदै केन्द्र र प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा आज पत्रकार सम्मेल गरेर दुबै सरकरलाई वीपी उद्यान नै निर्माण गर्न आग्रह गरेको हो ।

केन्द्रको जानकारी बेगर प्रदेश सरकारले प्रक्रिया अघि नबढाएको भन्दै कांग्रेसले निर्णय तत्काल सच्याउन माग गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले वीपीको नामको उद्यान मास्न लागेर सरकारले पुन: निषेधको राजनीति गर्न लागेको आरोप लगाउनुभयो ।

गत बिहीबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले वीरगञ्जमा वीपी उद्यान निर्माणका लागि प्रस्ताव भइसकेको १० बिघा जग्गामा शहिद स्मृति पार्क बनाउन लागेकोमा विरोध जनाएको थियो ।

केन्द्रीय समितिको निर्णय आज सार्वजनिक गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले वीपी उद्यान बनाउन गरिएको जग्गा नामसारीको फेहरिस्त प्रस्तुत गर्नुका साथै उद्यान निर्माणका लागि छुट्याइएको जग्गाको लालपुर्जा समेत सार्वजनिक गर्नुभयो । 

२०६० साल कात्र्तिकमा तत्कालीन श्रम तथा यातायात मन्त्री डा. प्रकाशचन्द्र लोहनीबाट वीपी उद्यानको शिलान्यास गरिसकेको भन्दै प्रवक्ता शर्माले अहिले अर्कै नाममा पार्क बनाउन खोज्नु आपत्तिजनक भएको बताउनुभयो ।

वर्तमान सरकारले जीवनभर लोकतन्त्रका लागि लडेका दिवंगत नेताको नाममा रहेका संरचनामा एकपछि अर्को आक्रमण गरिएको भन्दै उहाँले निर्णय तत्काल नसच्याए कडा रुपमा उत्रने चेतावनी दिनुभयो ।

यही माघ १६ गते प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्यानको जग्गामा शहिद पार्क बनाउने भन्दै शिलान्यास गर्नुभएको थियो । हाल सो जग्गा वीरगञ्ज महानगरपालिकाको स्वामित्वमा छ । 

प्रकाशित:माघ २७, २०७५

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्