एकताको सन्देश फैलाउन नेतृत्वलाई कांग्रेस नेताहरुको ध्यानाकर्षण

- रेडियो कान्तिपुर, काठमाडौं

    माघ २८, २०७५

    - महासमिति बैठकले प्रस्तुत गरेको एकताको सन्देशलाई तल्लो तहसम्म लैजान कांग्रेस नेताहरुले नेतृत्वको ध्यानाकषर्ण गराएका छन् । कार्यकर्ताहरुलाई सम्मानपूर्ण व्यवहार र न्यायपूर्ण अवसर प्रदान गर्नुपर्नेमा उनीहरुको जोड छ ।

    कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठकमा लिखित प्रस्ताव पेश गर्दै केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले कार्यकर्तासँगको सम्बाद र सम्बन्धलाई थप प्रगाढ बनाउनुपर्नेमा जोड दिनुभयो ।

    पार्टीलाई जीवन्त र कार्यकर्तामा उत्साह सञ्चार गराउन आवश्यक रहेको भन्दै नेता जोशीले ११ बुँदे प्रस्ताव पेश गर्नुभएको छ । जसमा पार्टीका भ्रातृ र शुभेच्छुक संघहरुको महाधिवेशन समयै गर्नेदेखि पार्टीको महाधिवेशन पनि विधानमा उल्लेख भएको समयमै गर्न सुझाइएको छ ।

    त्यस्तै महासमिति बैठकमा प्रस्तुत भएको भावना अनुसार समावेशी आधारमा एक तहमा एकपटक मात्र अवसर प्रदान गर्न र केन्द्रीय सदस्य क्षेत्रीय प्रतिनिधिका रुपमा रहने र महाधिवेशन प्रतिनिधिका लागि चुनाव लड्नुपर्ने व्यवस्था मिलाउन उहाँले आग्रह गर्नुभएको छ ।

    यस्तै, बैठकले नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले दिएको राजीनामा स्वीकृत गरेको छ । माउ पार्टी कांग्रेस सभापति शेरबहादुर देउवालाई आज राजीनामा बुझाउनुअघि पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै महरले सिङ्गो केन्द्रीय कार्यसमिति आफू विरुद्ध उभिएको आरोप लगाउनुभयो ।

    नेविसंघको समयावधिबारे औपचारिक निर्णय गर्न पार्टीले लामो समय लगाएको भन्दै उहाँले राजीनामा दिएको उल्लेख गर्नुभयो । 

    कांग्रेस केन्द्रीय कार्यसमिति बैठक भोलि दिउँसो २ बजे पुन: बस्नेछ । 

     

    प्रकाशित:माघ २८, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्