डीपीएल क्रिकेटमा रुपन्देही र काठमाडौंको विजयी शुरुवात 

- रेडियो कान्तिपुर, काठमाडौं

    माघ २८, २०७५

    - रुस्लान धनगढी प्रिमियर लिग क्रिकेट डीपीएलमा रुपन्देही च्यालेन्जर्स र काठमाडौ गोल्डेन्सले विजयी सुरुवात गरेका छन् । आज भएको खेलमा रुपन्देहीले महेन्द्रनगर युनाईटेडलाई २ रनले तथा काठमाडौले धनगढी स्टार्सलाई ४ विकेटले हराउँदै जित हात पारेका हुन् । 

    धनगढीस्थित प्रस्तावित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा रुपन्देहीले दिएको १ सय १२ रनको लक्ष्य पच्छएको महेन्द्रनगरले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १ सय ९ रन मात्र जोड्न सक्यो । शुभ्रमण्डेयम आनन्दले २५ तथा रोहित पौडेलले २४ रन जोडे ।

    मोहम्मद नाभेदले १२ रन जोडेको ईनिङ्समा अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीे निर्धारित ओभरमा १ सय ११ रन बनाउँदा अलआउट भयो ।

    रुपन्देहीका सुमित महर्जनले सर्वाधिक २७ रन जोडे । विनोद भण्डारीले १९ रन जोड्दा विक्रम सोब १६ रनमा नटआउट रहे । बसन्त रेग्मी र ललित भण्डारीले खातै खोल्न सकेनन् । महेन्द्रनगरका सिद्धान्त लोहनीले ३ तथा अविनाश बोहोरा र सागर ढकालले समान २ विकेट लिए । 

    आजै भएको पहिलो खेलमा काठमाण्डौ गोल्डेन्सले धनगढी स्टार्सलाई ४ विकेटले हरायो । धनगढीले दिएको १ सय ३३ रनको चुनौती काठमाण्डौले १ बल अगाबै ६ विकेट गुमाएर भेट्टायो । काठमाण्डौलाई जिताउन अंकित दब्बासले २९, गौरब तोमरले २८ र अनिल कुमार शाहले २४ रनको योगदान गरे ।

    सुरुवाती ब्याट्सम्यान कम स्कोरमा पभेलियन फर्केपनि मध्यक्रमका ब्याट्सम्यानले उत्कृष्ट प्रर्दशन गर्दै टोलीलाई रोमाञ्चक जित दिलाए । दोस्रो विकेटका लागि अनिल कुमार शाह र अंकित दब्बासले ५७ रनको साझेदारी गर्दै टोलीको ईनिङस उकासेका थिए । सातौ विकेटका लागी बिक्रम भुषाल र मेहबुब आलमले २९ रनको साझेदारी गर्दै टोलीको जित निश्चित गरे । रोहन मुस्तफाले काठमाण्डौको ४ विकेट लिए । 

    यसअघि काठमाडौले टस जितेर फिल्डिङ रोजेपछी पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय ३२ रनको योगफल तयार पारेको थियो । धनगढीका लागी अमित श्रेष्ठले अर्धशतक प्रहार गरे । सन्दिप राजालीले २८ र सौरभ खनाल २५ रनमा नटआउट रहे । पवन सर्राफले १९ रन जोडे । काठमाडौका नन्दन यादवले २ विकेट लिए । 

    लिगमा भोलि सिवाईसी अत्तरिया र धनगढी स्टार्स तथा विराटनगर किंग्स र रुपन्देही च्यालेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ । 

     

    प्रकाशित:माघ २८, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्