हेलम्बुमा ३० वर्षपछि बाक्लो हिउँ (फोटो फिचर)

- अनिश तिवारी, हेलम्बु, सिन्धुपाल्चोक
  • हितपातले स्थानीयलाई सास्ती

माघ २९, २०७५

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा हिमपात भएको छ । पर्यटकीय नगरीको रुपमा नाम कमाएको हेलम्बुको गाउँभरी ६ फिट बाक्लो हिउँ जमेपछि स्थानीयको जनजीवन प्रभावित भएको छ ।

स्थानीय ६५ वर्षीय कामी लामाले भने, ‘३० वषपछि मात्रै यत्तिको बाक्लो हिउँ परेको हो, अब त बाहिर निक्लन सकिन्न, यसरी कठ्याङग्रिएर हिउँद बित्ने भो ।’ हेलम्बुको तार्केघ्याङ, मेलम्ची घ्याङ, तेजेनथाङ, कुटुम्साङ, घोप्टे घ्याङ, ठाडेपाटी, तार्तुङसम्म अत्यधिक हिउँले ढाकेको उनले सुनाए । 

‘लामो समयपछि यस्तो प्रकारको हिमपात फर्कियो,’उनले भने । २०४५ सालमा एकपटक गाउँभर यत्तिको बाक्लो हिउँ परेको इचोक गाउँका ६४ वर्षीय भोम्बोच्यांबा शेर्पाले स्मरण गरे । ‘किउलको निगाँले, हेलम्बुको आमायांग्री, इचोकसम्म हिउँले जमिनमाथि कब्जा  जमाएको छ, ’शेर्पाले भने । 

हेलम्बुको मेलम्ची घ्याङ हिमपातका कारण सडक अवरुद्ध भएपछि यात्रु गुम्बादेखि आवास पुनर्निर्माण बीचैमा रोकिन पुगेको छ । ह्योल्मो संस्कृतिको प्राचीन वस्ती बसेको हेलम्बुमा ३० वर्षअघिसम्म हिउँदको सुरुवाती दिनमा यस्तै हिउँ पर्ने गरेको स्थानीय बताउँछन् । ‘त्यसअघि प्रत्येक हिउँद महिनामा बाक्लो हिउ पथ्र्यो,’ हेलम्बु गाउँपालिकाका प्रमुख निमाग्याल्जेन शेर्पाले भन्नुभयो । झण्डै २०४५ सालपछिको लामो अन्तरालमा यति ठूलो हिउँ परेको उहाँको भनाई थियो । 

गुम्बैगुम्बाको सहर शेर्माथान्, महायोगी मिलारेपाको तपस्यास्थल झिचेन गुफादेखि पाँच पोखरी क्षेत्रमा समेत हिउँ परेको छ । सुन्दरतम लाक्पादोर्जे हिमालको काखमा रहेको पाँचपोखरी थाङपाल गाउँपालिकाको पाँचपोखरी भेगछेउ र सिमिसिदाङ नजिकैको हेलम्बुको आमायांग्री वरिपरिका गाउँ हिउले सेताम्मे बन्न पुगेको छ । ह्योल्मो संस्कृतिमा हिउलाई देवप्रसादको रुपमा लिइने गरिन्छ । 

हिउँले यातायात अवरुद्ध 

३० वर्षपछि बल्ल परेको ६ फिट बाक्लो हिउँले हेलम्बु गाउँपालिकाको मेलम्ची घ्याङ क्षेत्रमा यातायात अवरुद्ध भएको छ । ‘बाटोभरी हिउँ परेपछि सवारीसाधन मेलम्ची घ्याङमा थन्किएका छन्, अघिल्लो हप्ताभरी यस्तै भएको थियो, ’हेलम्बु गाउँपालिका वडा १ का अध्यक्ष मिङ्मार लामाले भन्नुभयो । 

‘ट्रेकिङ रुट’मा अवरोध

हेलम्बु वडा ४ र ५ को बीचमा रहेको थलडाँडामा बाक्लो हिउँ परेपछि हिउँ खेल्न आउनेको लर्को लागेको छ । स्कूले बालबालिकादेखि युवा पुस्ता, घुमन्ते पर्यटक रमाएर हिउँ खेल्न मस्त छन् । तर, सिमिसिदाङ हिमाल, गोसाइँकुण्ड जाने पर्यटकीय पदमार्ग बाक्लो हिउँले ढाकेपछि ट्रेकिङ रुट बन्द हुने अवस्था पुगेको छ । 

गोसाइँकुण्ड र हेलम्बुको पदमार्ग टेर्किङ रुट ठाडेपाटी गोसाइँकुण्ड जाने बाटो हिउँले पुरिएपछि पर्यटकलाई आवतजावतमा अप्ठ्यारो बनेको पर्यटन व्यवसायीले बताएका छन् । 

प्रकाशित:माघ २९, २०७५

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्