माघमै फुल्यो लालीगुराँस

- आश गुरुङ, लमजुङ

    माघ २९, २०७५

    कलाकार खेमराज घले र भारती घले जिप चढेर लमजुङको पर्यटकीय घलेगाउँ जाँदै थिए । साथमा थिए बालकृष्ण घले । क्व्होलासोंथर गाउँपालिका १, बाग्लुङपानी नजिकै लालीगुराँस फुलेको देखेपछि उनीहरु छक्क परे ।

    अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गतको बेंसीसहरस्थित पर्यटक सूचना केन्द्र तथा शुल्क काउन्टरका प्रमुख बालकृष्णले भने, ‘पोहोरसम्म फागुन अन्तिमतिर मात्रै लालीगुराँस देखेको थिएँ । अहिले त माघमै फुलेछ ।’ 

    घलेगाउँबाट फर्केपछि खेमराजले बेंसीसहर नगरपालिका ९, पुमा गाउँ नजिकै बोटमा ढकमक्क लालीगुराँस देखे । टिपेर संगैका साथीहरुलाई दिए । आफू चढेको जिपमा सजाए । ‘६ वर्षदेखि लगातार यो बाटो हिँडेको छु । अहिले त अचम्मै भयो । फागुन अन्तिमतिर, चैतमा मात्रै देखिन्थ्यो । अहिले त माघमै फुलेछ लालीगुराँस’ उनले भने । 

    पुमागाउँस्थित कन्याज्योति प्राविका शिक्षक दुर्गाबहादुर गुरुङका अनुसार स्कूल र घर नजिकै लालीगुराँस फुलेका छन् । उहाँले भन्नुभयो, ‘पहिले फागुन अन्तिम, चैत पहिलो सातातिर देखिने लालीगुराँस अहिले माघमै देखियो । के अचम्म भयो यो ?’ जलवायु परिवर्तनले फागुन चैतमा फुल्ने लालीगुराँस माघमै फुलेको हुनसक्ने उहाँको भनाई थियो ।

    क्व्होलासोंथर गाउँपालिका १ का वडाअध्यक्ष पेमा गुरुङले माघ १५ बाटै लालीगुराँस फुलेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पोहोर देखिएको थिएन । हुन त पोहोर असिना परेको थियो । अहिले त अचम्मै भयो, माघको आधाआधीबाट गुराँस फुलेको छ ।’

    बेंसीसहर नगरपालिका ३, काउलेपानीस्थित गाउँसहर काउलेपानी पर्यटन विकास समितिका अध्यक्ष देउबहादुर गुरुङका अनुसार गाउँमा लालीगुराँस फुल्न थालेको छ । पर्यटकलाई स्वागतमा फूलको गुच्छा दिँदा लालीगुराँस पनि दिने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार माघ १०/१२ गतेबाट लालीगुराँस फुलेको हो । उहाँले भन्नुभयो, ‘पहिले फागुनमा सुरु भएर चैतमा ढकमक्क हुन्थ्यो । अहिले माघमा फुलेर फागुनमा ढकमक्क हुने भयो । हामीले लालीगुराँसको प्याकेज फागुनमा राखेका छौं ।’ 

    दूधपोखरी गाउँपालिका ४ का खड्गबहादुर गुरुङका अनुसार गाउँपालिकाको कार्यालय गौंडा जाने बाटो साथै वरपर लालीगुराँस फुल्न थालेको बताए । 

    समुद्री सतहदेखि १ हजार ४ सय मिटर उचाइदेखि १ हजार ५ सय ५० मिटर उचाइका जंगलमा रहेका बोटमा लालीगुराँस फुल्न थालेको अनुमान गरिएको छ । माथिल्लो क्षेत्रमा भने फुलेका छैनन् । एक्याप इलाका संरक्षण कार्यालय भुजुङका प्रमुख राजेशप्रसाद गुप्ताले जलवायु परिवर्तनका कारण फागुन चैतमा फुल्ने लालीगुराँस करीब १ महिना अगावै फुलेको हुनसक्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘चैतमा हुने तापक्रम फागुनमा, फागुनमा हुने तापक्रम माघमा हुन थालेपछि फागुनचैतमा फुल्ने लालीगुराँस माघफागुनमा फुल्न थालेको हो । मुख्यगरी जलवायु परिवर्तनको कारण नै हो भन्न सकिन्छ ।’

    प्रकाशित:माघ २९, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्