स्थानीयको अवरोध पछि चुनढुंगा उत्खनन् बन्द

- माधव अर्याल, पाल्पा

    माघ २९, २०७५

    पाल्पाको माथागढी गाउँपालिका–७, रहबासमा सञ्चालित पाल्पा सिमेन्ट कम्पनीको चुनढुंगा खानी उत्खनन सोमबार देखि बन्द भएको छ । स्थानीयले आफ्ना माग पूरा नभएको, झुठ्ठा मुद्दा लगाएर थुनाउने काम भएको भन्दै थप माग राखेर खानी बन्द गरेका हुन् ।

    झण्डै दुई सयको संख्यामा स्थानीय बासिन्दा खानी उत्खनन् क्षेत्रमा पुगेर तत्काल माग पूरा गर्न दबाबा दिंदै उद्योग बन्द गर्न चेतावनी दिएका थिए । उनीहरु तीन साताअघि देखि नै चुनढुंगा खानी उद्योगका विरुद्ध आन्दोलन गर्दै आएका थिए ।

    स्थानीयले पटकपटक खानी बन्द गर्ने र संचालकले प्रहरी प्रशासन लगाएर स्थानीय टीका काफ्लेलाई थुनेका थिए । काफ्लेका अनुसार माग पूरा नहुन्जेल अब खोल्न दिइने छैन । उद्योगले गास, बास र कपासको बेवास्ता गर्दै जनताप्रति ज्यादती गरेको उनले बताए ।

    रहबास र गोठादीको सिमाना भनपोखरी, टिमुर धारासम्म एक वर्षदेखि चुनढुंगा निकासी गर्दै आएको छ । अहिले दैनिक ४ सय बढी टिपरबाट निकासी हुन्छ । रहबासको आवादी क्षेत्र नजिकै १५/२० वटा स्काभेटरले चुनढुंगा निकालेको छ ।

    सरकारले खानी सञ्चालकलाई स्थानीय जनताको माग पूरा गरेर मात्र खानी संचालन गर्न अनुमति दिएको छ । स्थानीयले सोही अनुरुप १२ बुँदे माग खानी संचालक समक्ष राखेको उनले बताए । तर, स्थानीयको मागप्रति कम्पनीले बेवास्ता गर्दै आएको स्थानीय जनसम्पर्क समितिका संयोजक समेत रहेको काफ्लेले बताउनुभयो । 

    कम्पनीले स्थानीय बासिन्दाको जग्गा केही बिचौलिया मार्फते झुक्काएर कौडीको मूल्यमा खरिद बिक्री भइरहेकाले उक्त कार्य रोक्न र सबै जनतासंग आम सहमतिमा जग्गाको मूल्य काम गर्न स्थानीयको माग छ । चुनढुंगा उत्खनन गर्न थालेपछि भनपोखरी गाउँबाट सुरुमै १० घर विस्थापित भइसकेका थिए ।

    कतिपय घर माथिबाट निकालेको चुनढुंगाको खतरामा छन् । स्थानीयका अनुसार आवादी जग्गा प्रचलित मूल्यमा किनेर बिचौलियाहरुले फाइदा उठाए । चुनढुंगाको उत्खनन् र निकासीले पानीका मुहान, खेती, मान्छेको जीवनमा समेत प्रभावित पार्छ भन्ने अहिले बुझेको बताएका छन् । 

    प्राविधिकको उपस्थिति र प्रत्यक्ष रेखदेखमा मात्र चुनढुंगा उत्खनन् गर्ने प्रावधान छ । तर यहाँ अनुगमन समेत नभएको स्थानीयले बताए । कम्पनीका चुनढुंगा हेर्ने प्रतिनिधि हरिकृष्ण गिरीले स्थानीयको माग पूरा भइसकेको बताउनुभयो । ‘फेरि पनि उहाँहरुले जबरनस्ती आएर बन्द गर्नु भएको छ,’ उहाँले भन्नुभयो, ‘हामीले जहिले पनि बसेर छलफल गर्न तयार नै छौं ।’ जिल्ला प्रशासन कार्यालयमा बन्द खुलाउन र वार्ताका लागि पहल गर्न आग्रह गरेको उहाँले बताउनुभयो । 

    प्रकाशित:माघ २९, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्