डीपीएलमा रुपन्देही च्यालेन्जर्सद्वारा दोस्रो जित दर्ता

- रेडियो कान्तिपुर, धनगढी

    माघ २९, २०७५

    रुस्लान धनगढी प्रिमियर लिग क्रिकेट डीपीएलमा रुपन्देही च्यालेन्जर्सले दोस्रो जित दर्ता गरेको दिन धनगढी स्टार्सले लगातार दोस्रो हार व्यहोरेको छ । धनगढीस्थित प्रस्तावित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सिवाईसी अत्तरियाले धनगढीलाई ५ रनले हराउँदा रुपन्देहीले विराटनगर किंग्सविरुद्ध ५ विकेटको जित निकाल्यो ।

    विराटनगरले दिएको ९४ रनको मध्यम लक्ष्य रुपन्देहीले १३ दशमलव १ ओभरमा ५ विकेट गुमाउँदै भेट्टाएको हो । सुरुवाती ब्याट्सम्यान सस्तैमा पभेलियन फर्केपछि दबाबमा आएको रुपन्देहीको ईनिङस पुनित मेहरा र बावर हायातले उकासे । मेहराले ४६ र हायातले १७ रन जोडे । भिम सार्कीले १२ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् । विराटनगरका अविनाश यादवले २ विकेट लिए ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगर किंग्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९३ रन जोड्यो । विराटनगरका असदुल्लाह खानले १६, कुशल भुर्तेलले १२ रन जोडे । राजेश पुलामी १७ रनमा नटआउट रहे । रुपन्देहीका पुनित मेहराले ३ तथा बसन्त रेग्मी र ललित भण्डारीले २–२ विकेट लिए ।

    आजै भएको पहिलो खेलमा धनगढीलाई ५ रनले हराउँदै अत्तरिया, तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । अत्तरियाले दिएको ९६ रनको सामान्य चुनौती पच्छ्याएको धनगढीले निर्धारित ओभरमा ९ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो । राजु रिजालले अबिजित २६ रन बनाएको ईनिङस्मा रोहन मुस्तफाले १८ रन जोडे । भुवन कार्कीले धनगढीको ४ विकेट झारे ।  

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले ५ विकेट गुमाएर ९५ रनको मध्यम योगफल तयार गर्‍यो । सन्नी पटेलले नटआउट ३५ रन बनाएको ईनिङसमा जयकिशन कोलसावालाले २१ रनको योगदान गरे । धनगढीका रोहन मुस्तफाले २ विकेट लिए ।

    लिगमा भोलि महेन्द्रनगर युनाईटेड र काठमाडौ गोल्डेन्स तथा विराटनगर किंग्स र धनगढीस्टार्सबीच प्रतिस्पर्धा हुनेछ ।

    प्रकाशित:माघ २९, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्