संघीयता विरुद्ध जाने सरकारको कुनै नियत नरहेको गृहमन्त्री थापाको भनाई

- रेडियो कान्तिपुर संवाददाता, काठमाडौं

    माघ २९, २०७५

    – गृहमन्त्री रामबहादुर थापाले संघीयताको विरुद्धमा जाने सरकारको कुनै नियत नभएको प्रस्ट्याउनु भएको छ । प्रतिनिधिसभाको आज बसेको बैठकमा सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिदैं गृहमन्त्री थापाले संघीयतालाई सुदृढ र कार्यान्वयन गर्ने पक्षमा सरकार रहेको उल्लेख गर्नुभयो । नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय विधेयक २०७५ को सैद्धान्तिक छलफलका क्रममा सांसदहरुले सरकार संविधान र संघीयताविरुद्ध देखिएको भन्दै आलोचना गरेका थिए ।

    विधेयकबारे सांसदहरुको खरो आलोचना र टिप्पणी खण्डन गर्दै गृहमन्त्री थापाले कानुनलाई अन्तिम रुप दिने काम सदनको भएको स्मरण गराउनुभयो । संविधान र संघीयताको मर्मअनुसार विधेयक ल्याएर सरकारले दायित्व मात्र पूरा गरेको भन्दै उहाँले त्रुटि भए सच्याउने काम सदन वा जनप्रतिनिधिहरुकै भएको बताउनुभयो । 

    नेपालमा लागू भएको संघीयता पृथक रहेको भन्दै गृहमन्त्री थापाले कार्यान्वयनका लागि कानुन निर्माण गर्दा मौलिकताअनुसार गर्नुपर्नेमा जोड दिनुभयो । 

    प्रकाशित:माघ २९, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्