मुलुकको शोधानान्तर स्थिती ६३ अर्ब ६८ करोडले घाटामा 

- रेडियो कान्तिपुर, काठमाडौं
  • रेमिटेन्स ३० प्रतिशतले बढ्यो

फाल्गुन १, २०७५

- चालु आर्थिक बर्षको पहिलो ६ महिनामा मुलुकको शोधानान्तर स्थिती ६३ अर्ब ६८ करोडले घाटामा छ । रेमिटेन्स आप्रवाह बढेपनि नेपाल भित्रने भन्दा बाहिरीने रकम उच्च भएपछि शोधानान्तर घाटा बढेको हो ।

गत आर्थिक बर्षको सोही अवधिमा शोधानान्तर स्थिती ६ अर्ब ६६ करोडले घाटामा थियो । नेपाल राष्ट्र बैंकले आज अर्धबार्षिक समिक्षा सार्वजनिक गर्दै रेमिटेन्स ३० दशमलव २ प्रतिशतले बढेर ४ खर्ब ४३ अर्ब ३६ करोड पुगेको जनाएको छ ।

गत बर्षको सोही अवधीमा रेमिटेन्स शुन्य दशमलव ५ प्रतिशतले बढेको थियो । यो अवधीमा अन्तिम श्रम स्वीकृतिका आधारमा बैदेशिक रोजगारीमा जानेको संख्या भने ३९ दशमलव १ प्रतिशतले घटेको केन्द्रीय बैंकले जनाएको छ । पुन: श्रम स्वीकृतिका आधारमा बैदेशिक रोजगारीमा जानेको संख्या भने ४ दशमलव ५ प्रतिशतले बढेको छ । पुष महिनामा मुद्रास्फीति ४ दशमलव ६ प्रतिशतले बढेको छ ।

गत बर्ष मुद्रास्फीति ४ प्रतिशत थियो । कुल वस्तु आयात ३० दशमलव ५ प्रतिशतले बढेर ७ खर्ब २३ अर्ब ९४ करोड पुग्दा निर्यात १० दशमलव ३ प्रतिशतले बढेर ४५ अर्ब ४१ करोड पुगेको केन्द्रीय बैंकले जनाएको छ । सरकारी वित्त स्थिती ७९ अर्ब २२ करोडले बचतमा रहेको समिक्षा प्रतिवेदनमा उल्लेख छ ।

बैकिङ कारोबारमा आधारित सरकारी खर्च ७ प्रतिशतले घटेको छ भने राजश्व संकलन २४ दशमलव २ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ । बिस्तृत  मुद्राप्रदाय ६ दशमलव ४ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन ७ दशमलव ७ प्रतिशतले र निजी क्षेत्रतर्फको ककर्जा १२ दशमलव ७ प्रतिशतले बढेको समिक्षा प्रतिवेदनमा उल्लेख छ । 

 

प्रकाशित:फाल्गुन १, २०७५

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्