कर्मचारी समायोजन विधेयक प्रतिनिधिसभाबाट पारित

- रेडियो कान्तिपुर, काठमाडौं

    फाल्गुन ३, २०७५

    - कर्मचारी समायोजन विधेयक २०७५ प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभाको आज बसेको तेश्रो बैठकमा सो विधेयक बहुमतले पारित भएको हो ।

    त्यसअघि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले राज्य व्यवस्था तथा सुशासन समितिले बुझाएको प्रतिवेदनसहितको समायोजन विधेयक संसदमा पेश गर्नुभएको थियो । समितिको प्रतिवेदनको क्रम संख्या १ देखि ६ सम्मलाई विधेयकको अंग बनाइएको छ । 

    त्यसअघि विधेयकमाथिको छलफलमा सांसद प्रेम सुवालले स्थानीय तहमा बढी कर्मचारी आवश्यक पर्ने बताउनुभयो । 

    अर्का सांसद सरिता गिरीले प्रदेश लोक सेवा आयोग गठनको व्यवस्था नगरी सङ्घीय लोक सेवा आयोगबाटै काम गर्न लागिएकाप्रति आपत्ति जनाउनुभयो । 

    सांसद देवेन्द्रराज कँडेलले हतारमा विधेयक ल्याएकाले पर्याप्त छलफल हुन नपाएको बताउनुभयो । 

    सांसद अतहर कमल मुसलमानले जालझेलपूर्ण तरिकाले दफा चार थपेर सङ्घीयता कार्यान्वयनमा अवरोध खडा गर्न खोजिएको आरोप लगाउनुभयो ।

    छलफलमा उठेका प्रश्नको जवाफ दिदै मन्त्री पण्डितले संबैधानि व्यवस्थाअनुसार नै विधेयक ल्याइएको बताउनुभयो । 

    प्रतिनिधिसभाबाट केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७५ पनि पारित भएको छ । कानून न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनको क्रम संख्या १ देखि १३ सम्म उल्लेखित संशोधनलाई विधेयकको अंग बनाइएको छ । प्रतिनिधिसभाको अर्को बैठक आगामी सोमबार बस्दैछ ।

    आजै बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्म स्वीकृत भएको छ । राष्ट्रिय सभाको अर्को बैठक आगामी बुधबारका लागि बोलाइएको छ । 

    प्रकाशित:फाल्गुन ३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्