गण्डकी प्रदेशमा पाठ्यपुस्तक पुगेन , अन्य विद्यार्थीले समयमै पाठ्यपुस्तक पाउनेमा आशंका

- रेडियो कान्तिपुर, काठमाडौं

    फाल्गुन ३, २०७५

    – विद्यालय स्तरको पाठ्यपुस्तकको छपाई र वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले विद्यार्थीको हातमा समयमै पाठ्यपुस्तक पुर्‍याउने दावी गरेपनि गण्डकी प्रदेशमा पाठ्यपुस्तक पुग्न सकेको छैन । हिजोदेखि शैक्षिक सत्र शूरु भएका मनाङ, मुस्ताङ, जुम्ला, डोल्पा र हुम्लामा पाठ्यपुस्तक नपुगेको हाम्रा सहकर्मीहरुले जनाएका छन् । यता केन्द्रका प्रबन्ध सञ्चालक महेश तिमल्सिनाले हुम्ला बाहेक अन्य ४ वटा जिल्लामा भने पाठ्यपुस्तक पठाइसकेको जीकिर गर्नुभयो । उहाँका अनुसार हुम्ला बाहेक डोल्पामा ९ हजार ८ सय ८५, जुम्लामा ३२ हजार २ सय ४६, मनाङमा ४ सय ४५ र मुस्ताङका लागि २ हजार ८५ पाठ्यपुस्तक पठाइसकिएको छ । हुम्लामा भने हिमपातका कारण पाठ्यपुस्तक पठाउन  उहाँको भनाई छ । केन्द्रले अहिलेसम्म १ करोड ७० लाख पाठ्यपुस्तक छपाई सकेको जनाएको छ ।

    यसैबीच हिमाली जिल्ला मनाङको तल्लो भेगका विद्यालयहरु खुल्न थालेपछि विद्यार्थी भर्ना हुन थालेका छन् । हिजोदेखि शैक्षिक सत्र सुरु भएपनि विद्यालयमा उपस्थित विद्यार्थी पाठ्यपुस्तकविना पढ्न बाध्य छन् । विद्यार्थी भर्ना अभियान सुरु भएको र विद्यार्थी आउने क्रममा रहेको शिक्षकहरुले बताएका छन् । तर, पाठ्यपुस्तक कहिले आउने भनेर टुंगो लागिसकेको छैन । चामे गाउँपालिका १, तिमाङस्थित गौरीशंकर आधारभूत विद्यालयका प्रधानाध्यापक कमलजंग गुरुङले विद्यार्थी आउन थालेपनि पाठ्यपुस्तक नआएको बताउनुभयो । 

     

    प्रकाशित:फाल्गुन ३, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्