विद्यमान अर्थतन्त्र र अवसरबारेको बहस कान्तिपुर कन्क्लेभ सुरु हुँदै 

काठमाडौं

    फाल्गुन ५, २०७५

    नेपालको विद्यमान अर्थतन्त्र र यसका अवसरबारे बहस केन्द्रित गर्ने उद्धेश्यले दुई दिने कान्तिपुर कन्क्लेभ काठमाडौंमा आज सुरु हुँदैछ । नेपालको सम्भावना प्रस्फुटन भन्ने नारासाथ हुने कार्यक्रममा युवा उद्यमीदेखि अर्थशास्त्री , विकासविद्, राजनीतिज्ञ, कलाकार, साहित्यकार लगायतले आफ्नो क्षेत्रको चुनौती, अवस्था र सम्भावनाबारे छलफल गर्नेछन् ।

    अन्तर सम्बन्धित विषयमा छलफल, निचोडको आदानप्रदान र समकालिन राष्ट्रिय–अन्तराष्ट्रिय मुद्दामा समालोचनाका लागि कन्क्लेभ लाभदायी हुने कान्तिपुर मिडिया ग्रुपले जनाएको छ । कन्क्लेभ उद्घाटनको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, माल्दिभ्स र श्रीलंकासहित विश्व बैंकका नेपाल निर्देशक ईडा रिदिहग, एमबी विर्ला सिमेन्टका कार्यकारी निर्देशक सन्दीप घोषले पहिलो दिन आज प्रवचन दिने कार्यक्रम छ ।

    दुईदिने कन्क्लेभको अवसरमा युवाहरुले नेपालमा गरिरहेको पौरखदेखि विश्वमञ्चमा नेपालको उपस्थिति र नेपालले भविष्यमा खोल्न सक्ने सम्भावनाका ढोकाहरुको विषयमा छलफल हुनेछ । पहिलो दिन आज युथ फर नेपाल शीर्षकमा फरकफरक क्षेत्रमा उपलब्धि हासिल गरेका नेपाली युवाहरुले आफ्नो सफलताको कथा बाँड्ने कार्यक्रम छ । जसमा लेक्स लिम्बु, मिस नेपाल श्रृंखला खतिवडा, टुटलका सहसंस्थापक शिक्षित भट्ट र सुम्निमा उदासले आफ्ना संघर्ष र सफलताका कथा मार्फत अरुलाई प्रेरणा दिने प्रयास गर्नेछन् । 

    दिउँसो ३ बजे कन्क्लेभको रेडियो कान्तिपुर र कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नेछन् । 

     

    प्रकाशित:फाल्गुन ५, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्