सुदूरपश्चिमका १२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन

- रासस, काठमाडौं

    फाल्गुन ५, २०७५

    संघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयले सुदूरपश्चिम प्रदेशका १२ वटा स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम सम्बन्धित गाउँसभा तथा नगरसभाबाट सिफारिस एवं प्रदेशमार्फत सिफारिसबमोजिम सुदूरपश्चिमका बैतडी, दार्चुला, बझाङ, डडेल्धुरा, डोटी र बाजुराका विभिन्न स्थानीय तहका नाम र केन्द्र परिवर्तन गरिएको हो । 

    सुदूरपश्चिमका सात स्थानीय तहको केन्द्र, दुई तहको नाम र केन्द्र तथा तीन तहको नाम मात्रै परिवर्तन गरिएको मन्त्रालयल जनाएको छ । 

    बैतडीको सिगास गाउँपालिकाको केन्द्र साविकको शिवलिंग गाविसको गर्जे कायम गरिएको छ । यसअघि सो गाउँपालिकाको केन्द्र गर्जे अथवा गाँजरी राख्ने निर्णय भएको थिएन । सबैलाई पायक पर्ने र बीच केन्द्र भएकाले गर्जेमा केन्द्र राख्ने निर्णय गरेको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले जानकारी दिनुभयो । 

    दार्चुलाको नौगाड गाउँपालिकाको केन्द्र धुलिगडाबाट सारेर होपरीगाड र लेकम गाउँपालिकाको केन्द्र रातामाटा तोकिएको छ । डडेल्धुराको नवदुर्गा गाउँपालिकाको केन्द्र सल्ला–बान्चौर कायम गरिएको छ । 

    यस्तै, बझाङको काँडा गाउँपालिकाको नाम साइपाल, डोटीको वोगटान गाउँपालिकाको नाम वोगटान–फुड्सिल, सायल गाउँपालिकाको केन्द्र ओमनगर राखिएको छ । 

    बाजुराको पाण्डवगुफा गाउँपालिकाको नाम जगन्नाथ र केन्द्र जुड्डी, स्वामीकार्तिक गाउँपालिकाको नाम स्वामीकार्तिक खापर र केन्द्र वाइ, छेडेदह गाउापालिकाको नाम खप्तड छेडेदह गाउँपालिका कायम गरिएको छ । हिमाली गाउँपालिकाको केन्द्र बाँधु धुलाचौर तोकिएको छ । 

    संघीय सरकारअन्तर्गतको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही दिन अगाडि देशका ९८ स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरेको हो । हेरफेर गरिएको नाम तथा केन्द्रबाट कामकारवाही अगाडि बढाउनसमेत सरकारले निर्देशन दिएको छ । 

     

    प्रकाशित:फाल्गुन ५, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्