मुस्लिम आयोगका अध्यक्षविरुद्ध चार वटा उजुरी

- रेडियो कान्तिपुर, काठमाडौं

    फाल्गुन ५, २०७५

    संवैधानिक परिषद्ले पाँच वटा संवैधानिक आयोगका अध्यक्षमा सिफारिस गरेकामध्ये मुस्लिम आयोगका अध्यक्षविरुद्ध चार वटा उजुरी परेको छ । सिंहदरवारमा आज बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सिफारिस भएका आयोगका अध्यक्षहरु विरुद्ध परेका उजुरी खोल्दा मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीविरुद्ध मात्र उजुरी परेको समितिले जनाएको छ ।

    बाँकी चार जना विरुद्ध कुनै उजुरी नपरेको समितिले जनाएको छ । मुस्लिम आयोगका अध्यक्ष अन्सारीलाई चार वटा उजुरी परेका मध्ये एक अतिगोप्य, एक गोप्य र दुई वटा नामसहितको उजुरी परेको छ । उजुरीमा शैक्षिक योग्यता नक्कली रहेको विषय उल्लेख रहेको बताइएको छ ।

    समितिका सभापति लक्ष्मणलाल कर्णले सदस्यहरूलाई अध्ययनका लागि समय दिएको र अध्ययनपछि मात्र उजुरीका बारेमा थाहा हुने बताउनुभयो । संसदीय सुनुवाई समितिले आगामी मङ्गलबार ११ बजे उजुरीकर्तालाई बोलाउने निर्णय गरेको छ । सोही दिन १२ बजे राष्ट्रिय प्रकृति तथा वित्त आयोगका अध्यक्षमा सिफारिस बालनन्द पौडेल र राष्ट्रिय समावेशी आयोगमा सिफारिस शान्तराज सुवेदीलाई सुनुवाईका लागि बोलाउने निर्णय गरेको सभापति कर्णले जानकारी दिनुभयो ।

    संवैधानिक परिषद्को गत माघ ७ गते बसेको बैठकले प्राकृतिक स्रोत तथा वित्त आयोगमा पूर्वसचिव समेत रहेका पौडेल, समावेशी आयोगमा पूर्वसचिव समेत रहेका सुवेदी, मधेसी आयोगको अध्यक्षमा विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगको अध्यक्षमा अन्सारीको नाम सिफारिस गरेको थियो ।

    यसैबीच, प्रमुख प्रतिपक्षी दलको अनुपस्थितिमा संवैधानिक परिषदको बैठकले आयोगको अध्यक्षको नाम सिफारिस गरेको भन्दै कांग्रेसले आज पनि सुनुवाई समितिको बैठक बहिस्कार गरेको छ । संवैधानिक परिषदको निर्णय, विधि र प्रक्रिया भन्दा बाहिर गएर गरिएकाले पाँच वटै आयोगका प्रस्तावित अध्यक्षको सुनुवाई बहिस्कार गरेको समिति सदस्य समेत रहेकी कांग्रेस सचेतक पुष्पा भुषालले जानकारी दिनुभयो ।

    प्रकाशित:फाल्गुन ५, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्