डिपीएल : अत्तरिया, महेन्द्रनगर र रुपन्देही प्लेअफमा

काठमाडौं

    फाल्गुन ६, २०७५

    - सीवाइसी अत्तरिया, महेन्द्रनगर युनाइटेड र रुपन्देही च्यालेञ्जर्स् रुस्लान धनगढी प्रिमियर लिग क्रिकेट डीपीएलको प्लेअफमा प्रवेश गरेका छन् । लिग चरणको अन्तिम खेलमा भोलि हुने अत्तरिया र काठमाडौं गोल्डन्सबीचको खेलको नतिजाले क्वालिफायर्स्मा पुग्ने टोलीको छिनोफानो लगाउने छ ।

    तालिकाको शीर्ष २ मा अटाउने टोलीबीच हुने क्वालिफायर्स्को विजेताले फाइनलमा स्थान पक्का गर्नेछ । तेस्रो र चौथो स्थानमा रहने टोलीबीचको एलिमिनेटरको विजेताले क्वालिफायर्स्मा पराजित टोलीसँग प्रतिस्पर्धा गर्नेछ । तालिकामा ४ खेलपछि शीर्ष स्थानमा रहेका् काठमाडौंको ७ अंक हुँदा दोस्रो स्थानको अत्तरियाको ६ अंक छ । तेस्रो स्थानको रुपन्देहीको पनि ६ अंक छ । चौथो भएको महेन्द्रनगरको ४ अंक छ । 

    विराटनगर किंग्सलाई १० रनले पराजित गर्दै अत्तरियाले प्ले अफमा स्थान बनाएको हो । धनगढीको फाप्लास्थित मैदानमा टस जितेर ब्याटिङ गरेको अत्तरियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ४८ रन बनाएको थियो ।

    जवाफमा विराटनगरले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३८ रन मात्रै बनाउन सक्यो । विराटनगरका लागि आसिफ शेखले सर्वाधिक ३९ रन बनाए । पृथु बाँस्कोटा २७ अविनाश यादव १४ कप्तान करण केसी १२ रनमा आउट भए । बलिङतर्फ अत्तरियाका भुवन कार्की र दीपेन्द्र रावतले ३–३ विकेट लिए । 

    यसअघि अत्तरियाले जयकिसन कोल्सावालाको ५१ र सन्नी पटेलको ६१ रनको अविजित इनिङ्सपछि निर्धारित २० ओभरमा ३ विकेट गुमाई १ सय ४८ रन बनाएको थियो । यो स्कोर जारी प्रतियोगिताकै उच्च हो । 

    यसअघि आजै भएको पहिलो खेलमा धनगढी स्टार्सलाई ३९ रनले हराउँदै रुपन्देहिले प्ले अफमा स्थान बनायो । रुपन्देहीले दिएको १ सय ७ रनको चुनौती पच्छ्याएको धनगढी ६ बल अगाबै ६७ रनमा अलाआउट भयो ।

    पवन सर्राफले १५ रन बनाएको धनगढीको ईनिङसमा सोमपाल कामीले ११ र सन्दिप राजालीले १० रन बनाए ।

    हुस्सुका कारण १५ ओभरमा छोट्याईएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहिले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ६ रनको योगफल तयार पारेको थियो । सुमित महर्जनले ३३, बिनोद भण्डारीले २४ र बाबर हायातले १९ रन बनाए । धनगढीका पवन सर्राफले ३, सोमपाल कामी र बिपिन खत्रीले समान २ विकेट लिए । 

    प्रकाशित:फाल्गुन ६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्