मनाङमा फेरि हिमपात (फोटो फिचर)

- आश गुरुङ, लमजुङ

    फाल्गुन ८, २०७५

    माघ ८ गतेदेखि परेको हिमपात रोकिँदा गएको बुधबारदेखि मनाङबासीले न्यानो अभाष गरेका थिए । सोमबार र मंगलबार पुन: हिमपात भएपछि स्थानीयको जनजीवन कष्टकर बनेको छ । फागुन १ गतेबाट खुलेका तल्लो मनाङ र चामेका स्कूलमा पठनपाठन प्रभावित भएको छ ।

    मनाङको तिमाङदेखि माथिल्लो क्षेत्र सबै ठाउँमा सोमबार दिउँसो र साँझपखदेखि हिमपात भएको स्थानीयले बताएका छन् । चामेस्थित लोकप्रिय माविका प्रधानाध्यापक सुरेश थापाका अनुसार विद्यार्थी स्कूल आउन सकेका छैनन् ।

    आएकाहरु हिमपात र चिसोका कारण पढ्न मानेका छैनन् । स्कूलको प्रांगणमा ३ देखि ४ फिटसम्म हिउँ जमेको उहाँले बताउनुभयो । यसअघिको हिउँ २ फिटमा फेरी थपिएको र हिउँ थुप्रिएको उहाँको भनाई छ । 

    घरेलु तथा साना उद्योग विकास समितिका उद्योग अधिकृत प्रदीप न्यौपानेले एउटा कार्यालयबाट अर्को कार्यालय सम्म जान नसक्ने गरी हिमपात भएको बताउनुभयो । स्थानीय पत्रकार नेगम परियारले पुन: हिमपातले मनाङको जनजीवन प्रभावित भएको बताए ।

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (स्याउ जोन) इकाई कार्यालय मनाङका प्रमुख कृषि अधिकृत राजेश्वर सिलवालका अनुसार स–साना घरहरु जतिकै उचाईको हिमपात भएको छ । उहाँले भन्नुभयो, ‘हिउँ कार्यालयका बोर्ड बराबर गरी थुप्रिएका छन् । ‘के साह्रो हिउँ परेको । हिउँ थुप्रिएर आफैं गढ्लाजस्तो पो हुन्छ ।’ 

    माथिल्लो मनाङस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका संरक्षण अधिकृत क्षेत्र गुरुङका अनुसार करीब ५ इन्चजति हिउँ जमेको छ । ‘पर्यटक थोराङला पास हुँदै मुस्ताङ निस्कन सकेको छैन । गएका केही पर्यटक फर्किए’ उहाँले भन्नुभयो, ‘दैनिक १०/१२ जना पर्यटक आइरहेका छन् । मौसममा सुधार नभएसम्म नजान भनेका छौं ।’ उहाँका अनुसार हिमपात भएपनि पहिलेको झैं चिसो छैन । 

    प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाका अनुसार चामेमा नयाँ हिउँ नै २ फिट जमेको बताउनुभयो ।

    प्रकाशित:फाल्गुन ८, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्