‘मुन्दुम ट्रेल’ लाई प्रदेशकै उत्कृष्ट पर्यटकीय पदमार्ग बनाईने

- एलिसा श्रेष्ठ, भोजपुर

    फाल्गुन ११, २०७५

    नेपाल सरकारले सूचीकृत गरेको एक सय पर्यटकीय गन्तव्य मध्ये भोजपुरको टेम्केडाँडा मुन्दुम टे«ल पदमार्गलाई प्रदेश १ कै उत्कृष्ट पर्यटकीय पदमार्ग बनाउने घोषणा गरिएको छ । मुन्दुम ट्रेल विकास तथा प्रवर्धन सम्मेलन २०७५ को भेलाले पदमार्गलाई उत्कृष्ट दर्जा दिएर पर्यटकीय गन्तव्यको रुपमा विकास र प्रवर्धन गर्न भौतिक तथा पर्यावरणीय अभ्यासको थालनी गर्ने निर्णय गरेको हो ।

    पदमार्गसंग जोडिएका भोजपुरको टेम्केमैयुङ गाउँपालिका, साल्पासिलिछो गाउँपालिका, षडानन्द नगरपालिका, भोजपुर नगरपालिका, खोटाङको केपिलासगढी गाउँपालिका, साकेला गाउँपालिका, महाकुलुङ गाउँपालिका, रुपाकोट मझुवागढी नगरपालिकाका स्थानीय तहका जनप्रतिनिधिहरुको संयुक्त भेलामा पदमार्गको विस्तृत अध्ययन प्रतिवेदन डीपीआर सहितको गुरुयोजना निर्माण गरेर आ–आपmनो भौगौलिक क्षेत्र अन्तर्गत कार्य गर्ने निर्णय गरेको हो ।

    पदमार्ग क्षेत्रलाई साँस्कृतिक, भाषिक, जातीय विविधताको रुपमा पर्यटकीय आकर्षण थप्ने योजनाहरु अगाडि बढाईने टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष ध्रुवराज राईले बताउनुभयो । त्यस्तै, सम्मेलनमा पदमार्गमा पर्ने वन्यजन्तुको बासस्थान, जैविक विविधता, खानेपानीका मुल र ‘ईको सिस्टम’लाई असर पुग्ने कुनै पनि किसिमको सडक, बाटो जस्ता भौतिक संरचनाको निर्माण नगर्ने निर्णय गरिएको छ ।

    पदमार्गको विकास र प्रवर्धन गर्नसके पर्यटकीय आगमन थप्न र विविध रोजगारमुलक बाटो खुल्न सक्ने सम्भावना रहेको मैयुङ टेम्के साल्पा सिलिचुङ पर्यटन प्रवर्धन केन्द्रका अध्यक्ष रमेश कुमार राईले बताउनुभयो । 

    सम्मेलनमा नेपाल पर्यटन बोर्डका सिनियर डाईरेक्टर हिक्मतसिहं ऐरीले पदमार्गलाई स्थानीय तहहरुले मात्र नभई प्रदेश सरकारले नै यसको महत्वलाई बुझेर पहिलो प्राथमिकताका साथ काम अघि बढाउनुपर्ने बताउनुभयो । सम्मेलनमा पदमार्गको देश विदेशसम्म तीब्र प्रचारप्रसारको जोड दिँदै सहभागी जनप्रतिनिधिहरुले पदमार्गका लागि ठोस योजना सहित बजेट विनियोजित गरेर कामको सुरुवात गर्ने मत राखेका थिए । 

    उक्त पदमार्गबाट डाँडै डाँडाबाट चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक ३८, चाम्लाङ, मकालु, कञ्चनजंघा, कुम्भकर्ण लगायतका दुई दर्जन भन्दा बढी सुन्दर हिमश्रृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ ।

    पर्यटकीय प्रचुर सम्भावना बोकेको उक्त ‘मुन्दुम ट्रेल’को ०७४ पुष २४ देखि २६ गतेसम्म सर्वेक्षण गरिएको थियो । प्राकृतिक सुन्दरताले अति मनमोहक दृश्यावलोकन गर्न सकिने यस मैयुङ क्षेत्रलाई टूरिजम हब बनाउने लक्ष्यले ३१ दशमलव ५ किलोमिटर लामो पदमार्गको अनुसन्धान, अनुगमन गरिएको छ ।

    प्रकाशित:फाल्गुन ११, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्