डीपीएलको उपाधि सिवाईसी अत्तरियाले उचाल्यो

- लक्ष्मी जिसी, धनगढी

    फाल्गुन ११, २०७५

    रुस्लान धनगढी प्रिमियर लिग क्रिकेट डीपीएलको उपाधि घरेलु टोली सिवाईसी अत्तरियाले उचालेको छ । धनगढीस्थित प्रस्तावित फाप्ला मैदानमा महेन्द्रनगर युनाईटेडलाई ३ विकेटले हराउँदै घरेलु टोली अत्तरिया पहिलो पटक च्याम्पियन बनेको हो ।

    यसअघिका दुबै उपाधि धनगढी टिम चौराहाले जितेको थियो । महेन्द्रनगरले दिएको १ सय २४ रनको लक्ष्य अत्तरियाले ७ विकेट गुमाउंदै १ बल अगावै भेट्टायो । विदेशी खेलाडी जयकिशन कोल्सावाला र सन्नी पटेलको उत्कृष्ट ब्याटिङ गरेपछि घरेलु टोलीले पहिलो पटक उपाधि सुरक्षित गरेको हो ।

    कोल्सावालले ३० रन जोड्दा पटेल ४७ रनमा नटआउट रहे । कप्तान दिपेन्द्रसिंह ऐरिले १७ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् । घरेलु टोली अत्तरियाले ३० लाख रुपैयाँ हात पार्दा उपविजेता महेन्द्रनगरले १२ लाख रुपैयाँ हात पारे ।

    पहिले टस जितेर ब्याटिङ गरेको महेन्द्रनगरले निर्धारित २० ओभरमा १ सय २३ रन जोड्दा अल आउट भयो । पाँचौ विकेटका लागि कुशल मल्ल र दिलिप नाथले ५१ रनको साझेदारी गर्दै महेन्द्रनगरको इनिङस् उकासेका थिए ।

    ओपनर दिलिप नाथले ४१ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ४३ तथा मल्लले २५ रन जोडे । रोहित कुमार पौडेलले २४ रन बनाएको ईनिङ्समा कप्तान शरद भेषावकर खाता नखोल्दै आउट भएपछि महेन्द्रनगर संकटमा परेको थियो ।

    अंमरसिंह राउटेलाले १ रन जोड्दा अभिनास बोहोरा र साहव आलम शुन्यमा आउट भए । महेन्द्रनगरले ५ ब्याट्सम्यान रन आउट भएका थिए । अत्तरियाका कप्तान दिपेन्द्रसिंह ऐरीले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । त्यस्तै दिपेन्द्र राउतले २ तथा सन्नी पटेल एक विकेट लिए ।

    प्रकाशित:फाल्गुन ११, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्