गिलुङमा गुरुङ फिल्म ‘मि न्होंर्बे ट’

- आश गुरुङ, लमजुङ

    फाल्गुन १६, २०७५

    घुमाउने घरको आँगन । एक हूल मानिस जम्मा भएका छन् । पुरानो भकारीले छाएको छाप्रोमुनी घाँटु गुरु गीत गाउँदै छन् । गीति लय र मादलको तालमा ६ जना घाँटुसरी कम्मर मर्काएर घाँटु नाचिरहेका छन् । गुरुसंग भेडीगोठाले घाँटु गीत गाउँदै र सिक्दैछन् ।

    सानैदेखिका साथी तर, विवाह भएर गएपनि सम्बन्ध विच्छेद भइसकेकी घाँटुसरी उनको नजिकै आएर नाच्दा गोठालेलाई केही असहज लाग्छ । गुरुङ संस्कृतिमा आधारित मौखिक गीतिकाब्य घाँटु गीतमा  घाँटुसरी ‘यम्फावती’ हुन् ।

    घाँटुको अध्ययनका लागि गाउँ आएर मञ्चमा बसेका पूर्वप्राज्ञ इन्द्रबहादुर गुरुङ, उनकी पत्नी काशीपिरी गुरुङ साथै राजकुमार गुरुङ, गल गुरुङ (दीपु), उच्र्यों गुरुङलगायतले घा“टुसरी ज्योतिमायालाई रानी यम्फावतीको रुपमा सम्मान गर्छ । उनले लगाएको लावा (धान भुटेर सिन्कामा उनेर बनाइएको मुकुट) टाउकोबाट झिक्दै मौलिक ‘क्राउन’ लगाएर रानी बनाइन्छ । 

    घाँटु सिकाउँदै आएका गुरु जुठेबा (चन्द्रप्रसाद गुरुङ) ले घाँटु गीतमा ‘परशुराम’ राजा भएअनुरुप आफ्ना शिष्य गोठालेलाई परशुराम राजा बनाउनुपर्ने बताउँछ । उनलाई रानीको छेउ लगिन्छ । घुमाउने घरभित्रबाट कपडाद्धारा निर्मित मुकुट ल्याएर गोठालेलाई लगाइदिन्छ । आँगनबाट स्थानीयको ताली गढगढाहट आउँछ । एकनासले दृश्य हेरिरहेका स्थानीय दंग पर्छन् ।

    ‘घाँटु गीतलाई आधार मानेर नयाँ प्रयोग गर्न खोजिएको हो’ उक्त दृश्यलाई निर्देशन गरिरहेका माओत्सेतुङ गुरुङले भने, ‘अब गीतमा होइन, घाँटुमै राजा परशुराम र रानी यम्फावती देखिनुपर्छ ।’

    दृश्यले बैशाख पूर्णिमामा घाँटु नाचेको दृश्य देखाइएपनि यो गुरुङ फिल्म ‘मि न्होंर्बे ट’ अर्थात ‘आँखाभित्रको फूल’ को एउटा प्रमुख दृश्य हो । उक्त दृश्य सकिएपछि दृश्यकै निरन्तरता दिँदै गल्बन्दीई चैंस्यो ङोल्स्यो (गल्बन्दीले तनौंला सोल्टिनी) बोलको गीत सुरु हुन्छ ।

    ‘संस्कृतिलाई आँखाभित्रको फूलसंग जोडेका छौं । गोठालेको दुःख, पीडा, माया प्रेम छँदैछ’ यसअघि ३ फिल्म लेखन निर्देशन गरिसकेका निर्देशक माओत्सेतुङले भने । पहिले सहायक निर्देशन गरिरहेका उनले फिल्म मुई (पैसा) बाट निर्देशनमा डेब्यु गर्दैै पाईला फिल्मस् प्रालिको प्रस्तुतिमा निर्मित तमुस्यो (गुरुङसेनी) र टुकीको लेखन निर्देशन गरिसकेका छन् । उनको लेखन र निर्देशनमा निर्माण हुँदै गरेको ‘मि न्होंर्बे ट’ उनको तेस्रो फिल्म हो ।

    फिल्मका घाँटुसरी यम्फावती पात्र मिस चितवन २०१७ का विजेता सुमन गुरुङ हुन् । उनको यो पहिलो डेब्यु फिल्म हो । यसअघि ३ वटा म्युजिक भिडियो खेलिसकेकी उनले फिल्मबाट नयाँ अनुभव संगालेको बताइन् । फिल्मका बिर्खबहादुर अर्थात बीरे भेंडी गोठालाका पात्र लमजुङमा खेमराज घले हुन् ।

    बेंसीसहरको एउटा सहरकारीमा कार्यरत उनले यसअघि ३ वटा गुरुङ फिल्म खेली सकेका छन् । फिल्ममा सुमित गुरुङ, एलिजा गुरुङ, पवित्र गुरुङ, विवेक गुरुङ, अमीर गुरुङ (बन्दीपुरे ठागु), धर्मदेव घले, आशिष गुरुङ, दुर्गा गुरुङ लगायतले अभिनय गरेका छन् । माघ १९ देखि क्व्होलासोंथर गाउँपालिका ९ को गिलुङ, टक्सार र भेडीगोठमा छायांकन गरिएको फिल्म ३५ लाख रुपैयाँ लगानीमा निर्माण हुन लागेको हो । 

    फिल्मलाई खीमबहादुर गुरुङले खिचेका छन् । निर्माण नियन्त्रकमा आश गुरुङ (पाईला फिल्मस्) छन् । फिल्मको पोष्ट प्रोडक्सन म्याक्स फोर डी पोखरामा हुनेछ । नयाँ वर्षको अवसरमा फिल्म प्रदर्शन गरिने निर्माण पक्षले बताएको छ । बुद्धकुमार गुरुङ, राजकुमार गुरुङ र अमीर गुरुङको लगानीमा निर्मित उक्त फिल्ममा आश गुरुङ साथै रोशन गुरुङ र अमीर गुरुङले गीत लेखेका छन् ।

    तेजेन्द्र गुरुङ, धनबहादुर गुरुङ र अमीर गुरुङ (बन्दीपुरे ठागु) को संगीत छ । मनोज गुरुङ, पवित्रा गुरुङ, ज्योति गुरुङ, शीत्तल गुरुङ, शर्मिला गुरुङ, तेजेन्द्र दुरा, बबिता गुरुङ लगायतले आवाज दिएका छन् । गुरुङ भाषामै कौडा गीतको नयाँ प्रयोग गरिएको छ । लब्सन गुरुङले कोरियोग्राफी गरेका छन् । 

    प्रकाशित:फाल्गुन १६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्