जनताको भावना अनुरुप प्रदेशको नाम र राजधानी तोकिने

- प्रदीप मेन्याङ्बो, सुनसरी

    फाल्गुन १८, २०७५

    मुख्य मन्त्री शेरधन राईले सकेसम्म प्रदेशसभाका सांसदको सहमतिको आधारमा यसै चालू हिउँदे अधिवेशनमा प्रदेश १ को नामाङ्कन र राजधानीको विषय टुंगो लगाउने बताउनुभएको छ । उहाँले प्रदेश १ का जनताको भावना अनुरुप भूगोल, ऐतिहासिकता, संस्कृति र पहिचानको ख्याल गर्दै नाम र राजधानीको विषय टुंगो लगाउने बताउनुभयो । 

     धरानमा किरात राई यायोक्खाको शनिबारदेखि सुरु भएको तीन दिने १० औं केन्द्रीय महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘तर हामी अहिले सघन छलफल गरिरहेका छौं । मैले प्रधानमन्त्री केपी शर्मा ओली, देखि राजनीतिक दलका नेताहरुसंग यस विषयमा निरन्तर अन्तक्रिया गरिरहेको छु । यसको मत्लव प्रदेशको नाम र राजधानीको विषय टुंग्याउन केन्द्रको दबाबमा गर्नु पर्छ भन्ने छैन ।’ 

    यायोक्खाले प्रदेश १ लाई किरात प्रदेश नामाकरण गर्न पटक पटक माग गर्दै आएको सन्दर्भमा उहाँले किरायाले राखेको माग जायज भएको बताउनुभयो । उहाँले आफूहरु कसैको आर्शीवाद र टीका लगाएर नआएकाले संघीयताको मर्मअनुसार नाम र राजधानी तोकिने बताउनुभयो । उहाँले किरात नाम कुनै जाति, समुदाय नभएर सभ्यता भएको बारेमा दलका नेताहरु प्रस्ट भइसकेको पनि उहाँले बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘नाम र राजधानी तोक्न सजिलो भएको भए ५ वर्ष ८ महिनामा दुई वटा संविधानसभाले यी विषय टुंगाइ सक्थ्यो । अब यो अधिकार प्रदेश सभालाई दिएकाले सबैलाई अपनत्व हुनेगरी सर्व स्वीकार्य नाम र राजधानी तोक्दा सहमतीको विकल्प छैन ।’

    उहाँले पहिचान स्थापित गर्नकै लागि संघीयतालाई कार्यान्वयन गर्न आफूहरु प्रयासरत रहेको बताउनुभयो । संघीयतालाई कमजोर बनाउने तत्वसंग सचेत रहन पनि उहाँले सुझाउनुभयो । सो अवसरमा सभामुख प्रदीपकुमार भण्डारीले आफू माझ किरात र पल्लो किरातमा हुर्क काले आफूलाई किरातको नालीवेली सबै थाहा भएको तर नाम र राजधानी भने प्रदेशसभाले सहमतिमा टुंगो लगाउनेमा विस्वस्त रहेको उल्लेख गर्नुभयो । 

    यायोक्खाका केन्द्रीय अध्यक्ष तिलक राईको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा विभिन्न वक्ताहरुले प्रदेश १ लाई किरात प्रदेश बनाउनु उपयुक्त हुने बताएका थिए भने केही वक्ताले किरात लिम्बुवान राखेमा उपयृुक्त हुने धारणा राखेका थिए । 

    यसअघि मुलुकका विभिन्न जिल्लाबाट आएका यायोक्खा प्रतिनिधिहरुले सांस्कृतिक झांकी सहितको धरानको नगर परिक्रमा गरेका थिए । 

    प्रकाशित:फाल्गुन १८, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्