मनोचिकित्सकहरुको सम्मेलन धरानमा

- प्रदीप मेन्याङ्बो, सुनसरी

    फाल्गुन २२, २०७५

    नेपाल मनोचिकित्सक संघको सातौं राष्ट्रिय सम्मेलन बिहीबार देखि सुनसरीको धरानमा हुने भएको छ । दुई दशक अघि धरानमै भएको पहिलो सम्मेलनले संघ गठन गरेपछि दोश्रो पटक सातौं राष्ट्रिय सम्मेलन फेरि धरानको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हुन लागेको हो । 

    सम्मेलनमा यौन मनोविज्ञान कार्यशाला, सामाजिकक सञ्जालको प्रयोग र मनोचिकित्साको अन्तरसम्बन्ध, महिला मनोस्वास्थ्य र कानूनका विविध आयाम, बालबालिकाको मनोस्वास्थ्यका विषयमा छलफल हुनेछ । यस्तै, संगित र मनोचिकित्साबीचको अन्तर सम्बन्ध, ध्यान र मनोचिकित्सा, लागूपदार्थ र दुव्र्यसस उपचारमा मनोचिकित्सा, मनोविज्ञानको क्षेत्रमा आएको परिवर्तन, चुनौती, मनोविकार निदान लगायत विषयमा छलफल तथा अन्तक्रिया हुनेछ ।

    आयोजक संस्थाका सचिव मनोचिकित्सक डा. मधुर बस्नेतले भन्नुभयो, ‘बदलिंदो विश्व परिवेशमा मनोचिकित्सकका विविध आयामबारे व्यापक बहस गर्नु पर्ने देखिएकाले सातौं सम्मेलनले सोही अनुसार नयाँ एजेण्डामा बहस गर्ने छ ।’ सम्मेलन अवधिभरमा मनोचिकित्सामाथि गरिएका ६० वैज्ञानिक सोध अनुसन्धान, कार्यशाला, पोष्टर तथा मौखिक प्रस्तुति र विद्धत प्रवचन हुनेछन् । 

    सामाजिक सञ्जालको प्रयोगले बढ्दो मानसिक समस्यामा बालबालिका किशोर किशोरी मात्र नभएर प्रौढहरु पनि देखिन थालेका छन् । अनलाइन गेमले किशोर किशोरीमा आवेग बढेको छ । आवेगसँग हिंसा, हत्या र बलात्कार घट्नाको सम्बन्धसँग जोड्ने प्रयासमा थप अनुसन्धानका लागि पनि सम्मेलनमा बहस गरिने छन् । ती विषयमा पनि खुल्ला वैज्ञानिक छलफल हुने बताइएको छ ।

    मनोचिकित्सक डा. बस्नेतले भन्नुभयो, ‘विश्व व्यापी रुपमा हेर्ने हो भने १० प्रतिशतमा कुनै न कुनै मानसिक समस्या देखिएका छन् । ती मध्ये १ प्रतिशतमा सिजोफ्रेनिया, डिप्रेसन जस्ता कडाखाले मानसिक रोग देखिएका छन् ।’

    मनोचिकित्सकहरुले मनलाई सफ्टवेयर र दिमागलाई हार्डवेयरको रुपमा व्याख्या गर्ने गरेका छन् । आधुनिक मनोविज्ञान र मनोचिकित्सकले मनले दिमागको संरचना बदल्न सक्ने र दिमागमा आउने रासायनिक परिवर्तनले पनि मनलाई परिवर्तन गरेर तनाव उत्पन्न गराउन सक्ने भएकाले मानवीय मनोभावना र स्नायु दिमागबीच अन्तर सम्बन्ध रहको छ । 

    नेपालमा एक जना मनोचिकित्सकले १ लाख ८३ हजार ९ सय ८६ जनाको मानसिक समस्या हेर्नु पर्ने अवस्था छ । संघमा आवद्ध मनोचिकित्सकहरु कुल १ सय ४४ जना मात्र छन् । अझै पनि नेपालमा मानसिक रोगका बारेमा बृहत सर्भे हुन नसकेको सम्मेलनका सहसंयोजक तथा प्रतिष्ठानका मानसिक रोग विभागका प्रमुख डा. निदेश सापकोटाले बबताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालको मनासिक स्वास्थ्यको क्षेत्रमा यो सम्मेलनले प्रभावकारी रणनिति बनाउने दबाब दिने विश्वास गरिएको छ ।’

    सम्मेलनमा नेपालमा मानसिक स्वास्थ्यमा काम गर्नैै संघ संस्था, भारत, अष्ट्रेलिया, रसियाका १५ वरिष्ठ मनोचिकित्सक सहित एक सय पचास जनाको सहभागिता रहने छ । 

    प्रकाशित:फाल्गुन २२, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्