बदलिँदो परिस्थितिसँगै नयाँ मानसिक रोगपनि देखा पर्दै 

- प्रदीप मेन्याङ्बो, सुनसरी

    फाल्गुन २४, २०७५

    नेपालमा दिन दिनै मानसिक रोगीको संख्या बढ्न थालेको छ । मानसिक रोगी बढ्नुमा पछिल्लो समयमा आधुनिक सूचना प्रविधि, डिजिटलाइजेसन, सामाजिक सञ्जालको लत, भर्चुअल गेम, स्मार्टफोन, किशोर किशोरी अवस्थामै लागू पदार्थ, मध्यपान, धुम्रपान सेवन, अव्यवस्थित बसाई सराई, मुख्य जिम्मेवार रहेको मनोचिकित्सकहरुले बताएका छन् । 

    नेपाल मनोचिकित्सक संघको धरानमा शुक्रबार सम्पन्न सातौं राष्ट्रिय सम्मेलनको अवसरमा मानसिक स्वास्थ्यका विभिन्न आयामबारे कान्तिपुरले विभिन्न मेडिकल कलेजबाट सहभागी हुन आएका अग्रज मनोचिकित्सकहरुसँग जिज्ञासा राख्दा अधिकांसले नयाँ नयाँ मानसिक समस्या देखा पर्न थालेको बताएका थिए । 

    दुई दशक अघिसम्म १४÷१५ वर्षका देखि ४५÷५० वर्ष उमेर पुगेकाहरुमा सबैभन्दा बढी मानसिक समस्याले सताउने गरेकोमा केही वर्ष यता ६÷७ वर्षका देखि ७५÷८० वर्ष उमेरका मानिसमा मानसिक समस्या देखिएकाले पनि रोगीहरुको संख्या बढेको हो ।  

    कुनै समय पाटन अस्पतालमा निर्देशक भइसकेका काठमाडौं मोडल अस्पतालका प्रा.डा. कपिल देव उपाध्यायले भन्नुभयो, ‘पहिला देखिएका मानसिक रोग पनि बढ्दै छ र विभिन्न कारणले नयाँ नयाँ खाले मानसिक रोग र रोगीहरु पनि बढी रहेका छन् । उपचार पद्धतीमा नयाँ नयान्ँ प्रविधिहरु पनि बढ्दै छन् ।’

    उहाँले आधुनिक प्रविधिको विकासले रातभरी स्मार्टफोनमा झुण्डिने, वाइफाइ वा थ्री, जी नभए इरिटेड हुने, एक्लै नेटमा बसिरहने, आसपास, परिवार छरछिमेकमा के कसो हुँदैछ भन्ने पत्तै नपाउने, विवाह अगाडि नै सेक्सको अनुभव लिइसक्ने जस्ता समस्याले नयाँ मानसिक रोगीको संख्यामा वृद्धि भएको बताउनुभयो ।

    अर्को तथ्य पनि उजागर गर्दै उहाँले भन्नुभयो, ‘गाउँ छाडेर तीब्र रुपमा शहर पस्नेहरु अव्यवस्थित अनियन्त्रित हुन पुगेका छन् । शहरको भिडमा सोचे जस्तो पानी, विद्युत, खाद्यान्न, आय आर्जन नभएपछि त्यहाँ पनि तनाव पालेर बस्ने अनि मानसिक समस्या उत्पन्न गराउनेहरुको संख्या बढेको छ ।’

    उहाँले प्रकृतिक विपत्ति र दैनिक हुने सवारी दुर्घट्ना, हत्या हिंसा बलात्कारले पनि मानिसमा गम्भीर किसिमका स्ट्रेस बढाएको बताउनुभयो ।

    उदाहरण दिंदै उहाँले भन्नुभयो, ‘रेपमा परेकी एउटी बालिका वा युवतीले पाउने मानसिक आघातको कुनै क्षतिपूर्ति छैन । त्यो घट्ना उसको जीवन भर पोष्ट ट्रमाटिक स्ट्रेस डिस्अर्डर भएर सताइहन्छ । जस्का कारण आत्महत्या गर्न पनि सक्छे ।’

    शारीरिक रोग जस्तै सबैखाले मानसिक रोगको वर्गाीकरण गर्दा करीब ३ सय किसिमका छन् । तर ती मध्ये सामान्यतया देखिनेहरुमा सिजोफ्रेनिया, साइकोसिस, डिप्रेसन, अव्सेसन, फोविया, एन्जाइटी, बच्चामा एटेन्सन डिफिसेन्ट हाइपर एक्टिभिटी डिस्अर्डर, कन्भर्सन, पर्सनालिटि डिस्अर्डर, हिस्टेरिया लगायत हुन् ।

    विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मानसिक रोग विभागका एसिस्टेन्ट प्रोफेसर डा. संजीव कुमार मिश्रका अनुसार अचेल मानसिक रोगीहरु खुलेर आउन थालेका छन् । पहिले पहिले गुप्त रोग भएजतिकै परिवारको प्रतिष्ठानसँग जोडेर लुकाउने गरिएको थियो । तर, चेतना वृद्धि भएसँगै आफ्नो मानसिक रोगबारे खुलेर भन्नेहरुको संख्या पनि बढेको डा. मिश्रले बताउनुभयो । उहाँले भन्नुभयो, ‘ओपीडीमा आउने बिरामीहरु मध्ये धेरैले निद्राको गडबढी, मनमा नकारात्मक विचार मात्र आउने, आत्महत्या गर्न मनलाग्ने गुनासो लिएर आउने गरेका छन् ।’ 

    एन्जाइटीको समस्यामा परेका बिरामी आएमा मुटुको चाल बढेको, श्वास फेर्न गाह्रो भएको, हात खुट्टा निदाउने, कहिले तातो त कहिले चिसो भएको जस्ता लक्षण बताउने गरेका छन् भने डिप्रेसनको समस्या भएका बिरामीले मनको भन्दा पनि शारीरिक समस्या देखाउने गर्छन् । उहाँले भन्नुभयो, ‘डिप्रेसन समस्या हुन्छ तर बिरामीले डाक्टरलाई भन्छ– पेट दुख्छ, टाउको दुख्यो, जीउ दुख्यो । अनि चेकजाँच गर्दा पेट, टाउको वा जीउम केही भएको हुँदैन ।’

    उहाँका अनुसार अधिकांश यस्ता मानसिक रोगीहरु मनोचिकित्सककोमा जानु भन्दा अरु नै चिकित्सककोमा पुग्ने गरेका छन् । यस्तो अवस्थामा चिकित्सकले वास्तविक रोग पत्ता लगाउन सकेन भने बिरामीले सास्ती मात्र पाउँछ । मानसिक रोग सबै चिकित्सकले पहिचान गर्न सक्दैन । यद्यपि, पछिल्लो समयमा मुलुकका हरेक मेडिकल कलेजका एमबीबीएसमा मानसिक रोगबारे सामान्य पाठ्यक्रम भने राखिएको डा. मिश्रले बताउनुभयो । उहाँले भन्नुभयो, ‘तर ती पाठ्यक्रम बेग्ला बेग्लै छन् । मुलुक भरका सबै मेडिकल कलेजका लागि साझा पाठ्यक्रम भए अझ राम्रो हुन्थ्यो ।’

    मुलुक भर मनोचिकित्सकको संख्या कुल १ सय ४४ जना मात्र छन् । कुल जनसंख्याको १० प्रतिशतमा मानसिक रोग हुन्छ भन्ने विश्व व्यापी मान्यतालाई सकार्ने हो भने नेपालमा करीब २५ लाख मानिसमा कुनै न कुनै मानसिक समस्या रहेको छ । ती मानसिक समस्या भएकालाई उपचार गर्न एकजना मनोचिकित्सकको भागमा १७ हजार मानसिक रोगी पर्छन् । यसको अर्थ उपत्यका र केही शहरी क्षेत्रमा केन्द्रित मनोचिकित्सकको पहुँच भएकाले उपचार पाएपनि मुलुकका विभिन्न ठाउँमा भएका मानसिक रोगीहरुले सहज रुपमा उपचार पाउन सकेका छैनन् भन्ने प्रस्ट हुन्छ ।

    डा. मिश्रले भन्नुभयो, ‘विपि प्रतिष्ठानको मानसिक रोग विभागमा दैनिक सरदर ३० जना नयाँ मानसिक रोगीहरु उपचार गर्न आउँछन् । ती मध्ये तीन चार जना त कडा खाले सिजोफ्रेनिया र डिप्रेसन भएका, अल्कोहोलिक र लागूपदार्थ सेवनबाट उत्पन्न मानसिक रोगीहरु हुन्छन् ।’ 

    नेपालमा पहिलो पटक सन् १९९६ मा राष्ट्रिय मानसिक स्वास्थ्य नीति बन्यो । त्यसले मानसिक स्वास्थ्यबारे धेरै विषय समेटे पनि जनशक्ति अभाव, मानसिक रोग उपचारका लागि पूर्वाधारको कमी, पर्याप्त अध्ययन अनुसन्धान नभएकाले सन् २००७ मा पुनरावलोकन गरियो । त्यो पनि अधुरो भएपछि सन् २०१६ मा फेरि पुनरावलोकन गरिएको थियो । पछिल्लो समयमा मानसिक रोगी गरीब भए निः शुल्क औषधी उपचार गर्ने, कडा खाले दीर्घरोगी मानसिक रोगी भए मासिक १८ हजार रुपैयाँको औषधी निः शुल्क दिने निर्णय भने भएको छ ।

    साइकोसिस, सिजोफ्रेनिया, बाइपोलर डिस्अर्डर जस्ता मानसिक रोगलाई सरकारले कडा खाले मानसिक रोगको श्रेणीमा राखेको छ । तर सरकारले यस्ता रोगीलाई मासिक १८ हजार रुपैयाँको निः शुल्क औषधी दिन्छ भन्ने थाहा नपाउनेहरु भने धेरैको संख्यामा रहेको मनोचिकित्सकहरुले बताए ।  

    कडा खाले मानसिक रोग सिजोफ्रेनिया माथि अनुसन्धान गरेकी प्रतिष्ठानकी मनोचिकित्सक एसोसिएट प्रोफेशर डा. रिङ्कु गौतमले भन्नुभयो, ‘कतिपय यस्ता कडा खाले मानसिक रोग भएका व्यक्तिले आफूलाई रोगी नै नठान्ने भएकाले औषधी उपचार नै गर्न आवश्यक ठान्दैनन् ।’ उहाँकाअनुसार औषधी सेवन र उपचार गरेपनि आफूलाई रोगी नठान्ने भएकै कारणले बीचैमा औषधी सेवन गर्न छाड्नेहरुको संख्या उल्लेख्य रहेको छ ।  

    मनोवैज्ञानिक एसिस्टेन्ट प्रोफेसर डा. विनोद देवले प्रत्येक व्यक्तिको मन र विचार फरक फरक हुने र छिन छिनमा बदलिने भएकाले उपचारमा सोही अनुसार प्रयोग र ज्ञान, तालिम र अनुभवको आधारमा उपचार गरिने गरेको बताउनुभयो । सम्मेलन अवधिभरमा मनोचिकित्सामाथि गरिएका ६० वैज्ञानिक सोध अनुसन्धान, कार्यशाला, पोष्टर प्रदर्शन तथा मौखिक प्रस्तुति संयोजक तथा प्रतिष्ठान मानसिक रोग विभागका प्रमुख डा. बैकुण्ठराज अधिकारीले बताउनुभयो । शुक्रबार समापन भएको सम्मेलनमा नेपालमा मानसिक स्वास्थ्यमा काम गर्ने संघसंस्था, भारत, अष्ट्रेलिया, रसियाका १५ वरिष्ठ मनोचिकित्सक सहित एक सय पचास जनाको सहभागिता रहेका थियो । 

    प्रकाशित:फाल्गुन २४, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्