बालबालिकाको शिक्षाका लागि धरान रन 

- प्रदीप मेन्याङ्बो, सुनसरी
  • तीर्थले चौंथो पटक र कान्छी मायाले दोश्रो पटक विजयी

फाल्गुन २५, २०७५

धरान रनद्वारा शनिबार आयोजित आरती स्ट्रिप्स सातौं धरान १० के रनको उपाधि पुरुष तर्फ बाग्लुङका तीर्थ पुन र महिला तर्फ कान्छिमाया कोजुले जितेका छन । तीर्थ पुनले ३१ मिनेट १६ सेकेन्ड र कान्छिमायाले ३७ मिनेट ४७ सेकेन्डमा १० किमि दौड पूरा गरेका थिए ।

पुन भारतीय गोर्खा सेनामा कार्यरत छन् भने कोजु नेपालको शसस्त्र प्रहरी बलमा कार्यरत छिन् । प्रथम स्थान विजेता दुबैले जनही नगद ४० हजार रुपैयाँ र ट्रफी र प्रमाणपत्र हात पारे । पुनले यो सिजन सहित धरान रनको उपाधि चार पटक र कोजुले दुई पटक जितेका हु्न् । 

पुरुष तर्फको दोस्रो पर्वतका अनिस थापा भए । उनले ३१ मिनट २२ सेकेन्डमा निर्धारित दूरी पार गरेका थिए । उनले नगद ३० हजार रुपैयाँ हात पारे भने तेस्रो हुने नेपान आर्मीका गजेन्द्र राईले ३१ मिनट ३५ सेकन्डमा दौड पूरा गर्दै नगद २० हजार रुपैयाँ हात पारे ।

महिला तर्फ दोस्रो उपाधि विजेता धादिङकी सन्तोषी श्रेष्ठले ३८ मिनट ८ सेकेन्डमा पूरा गर्दै नगद ३० हजार रुपैयाँ र तेस्रो हुने एपीएफकी पुष्पा भन्डारीले ३८ मिनट ४७ सेकेन्डमा दौड पूरा गर्दै नगद २० हजार रुपैयाँ हात पारेका थिए । प्रतियोगिताको १६ वर्ष मुनिका उमेरका पुरुषतर्फ जुम्लाका नरेश बुढा प्रथम, अछामका प्रविणकुमार बोहरा दोस्रो र धरानका किरण लिम्बू तेस्रो भए ।

 महिलातर्फ दमक रनकी मनिषा राई प्रथम, चन्द्रकला भुजेल दोश्रो र संगीता तामाङ तेस्रो भइन् । १२ वर्ष मुनिका उमेरमा पुरुषतर्फ रोदन राई प्रथम, अनिष खड्का दोश्रो र अशोक तामाङ तेस्रो भए भने महिलातर्फ स्मृति राई प्रथम, लक्ष्मी भुजेल दोश्रो र प्रकृति भुजेल तेस्रो भए । भेट्रान (४० देखि ६० वर्ष) पुरुषतर्फ धर्म महर्जन प्रथम, निर्मल राई दोश्रो र मंगल राई तेस्रो भए ।

महिलातर्फ रितादेवी राई प्रथम, भिममाया राई दोश्रो र गंगा गुरुङ तेस्रो भइन् । दौडमा १६ वर्ष मुनि, १२ वर्ष मुनि र भेट्रानका विजेताहरु प्रम, दोस्रो र तेस्रोलाई क्रमशः नगद ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । 

दौड धरान ९ पुतली लाइनदेखि सुरु भएर नारायण चोक, दुर्गा चोक, बुद्ध चौक, रत्न चोक, मंगलबारे, कल्याण चोक, पानी टंकी, रंगशाला, जानकी चोक, जिरो पोइन्ट, लक्ष्मि चोक, हुँदै देशीलाइनमा टुङ्गिएको थियो ।

उक्त अवसरमा सुपर भेट्रान विद्याबाट ६४ वर्षीय इन्द्रवहादुर राई, उदयीमान खेलाडी इन्द्रकला नेम्वाङ्ग र किरण लिम्बु, धरान रन वर्ष खेलाडी दलबहादुर राईलाई सम्मान स्वरुप उपहार प्रदान गरिएको थियो । पूर्व राष्ट्रिय म्याराथन च्याम्पियन मुकुन्दहरि कृष्णलाई एथलेटिक्स खेलमा दिएको योगदनाको कदर गर्दै धरान रन संस्थाको तर्फबाट धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख मन्जु भण्डारी र धरान रनका संस्थापक सन्तोष राई, अध्यक्ष रमु राई र नेपाल एयरलान्यसका क्याप्टेन समेत रहेका अभिनेता विजय लामा लगायतले पुरस्कार वितरण गरेका थिए । दौडमा ३५ सय धावकहरु दौडेका थिए ।

धरान रन च्यारिटी प्रतियोगिताबाट संकलित रकम मध्ये पुरस्कार दिएर बाँकी रहेको रकम  ‘नेवा एजुकेशन फण्ड’ मार्फत धरानका सामुदायिक विद्यालयमा अध्ययनरत ३० जना विद्यार्थीलाई जाडोको न्यानो कपडा तथा स्टेशनरीका सामग्री प्रदान गर्ने घोषणा गरिएको छ । 

प्रकाशित:फाल्गुन २५, २०७५

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्