गोलभेंडा खेतीबाट प्रति कठ्ठा एक लाखसम्म आम्दानी

- देवनारायण साह, मोरङ

    फाल्गुन २६, २०७५

    मोरङको कटहरी र जहँदा गाउँपालिकाका कृषकहरुले गोलभेंडा खेतीबाट प्रति कठ्ठा एक लाख रुपैयाँ सम्म आम्दानी गर्न सफल भएका छन् । यस वर्षको हिउँदमा शीतलहर नचलेपछि गोलभेंडा खेती फष्टाएको हो । मौसम अनुकूल भएपछि गोलभेंडा उत्पादन बढेको छ भने लागत घटेको कृषकहरु बताउँछन् । 

    कटहरी ४ का कृषक नागेन्द्र सिंहलाई यतिबेला गोलभेंडा टिप्न भ्याइ नभ्याइ छ । उनले यस वर्ष ६ कठ्ठामा गोलभेंडा खेती गरेका हुन् । ‘अहिलेसम्म ३ कठ्ठामा लगाएको गोलभेंडा टिपेर १ लाख ७५ हजार रुपैयाँको बिक्री गरिसकेको छु,’ उनले भने, ‘अब बाँकी ३ कठ्ठाको गोलभेंडा टिप्न सुरु गर्छौं ।’ 

    ‘कार्तिक अन्तिम साताबाट मंसिरभर रोपेको गोलभेंडा अहिले कृषकलाई टिप्न भ्याइ नभ्याई छ,’ उनले भने, ‘जेठ अन्तिम सातासम्म फल्ने गोलभेंडाको मूल्य अहिले प्रति किलो २५ रुपैयाँको दरमा खेतमा नै बिक्री भइरहेको छ ।’

    उनले यस वर्ष गोलभेंडा १० रुपैयाँको दरले बिक्री गर्न सुरु गरेको बताए । यस्तै, स्थानीय कोपिन्द्र सिंहले १८ कठ्ठामा गोलभेंडा खेती गरेका छन् । उनले हालसम्ममा ४ लाख ५० हजारको गोलभेंडा बिक्री गरिसकेको बताए । ‘यस वर्ष मौसम अनुकूल भएकोले गोलभेंडा राम्ररी फष्टाएको छ,’ उनले भने, ‘यसपालीको हिउँदमा शीतलहर नचलेकोले गोलभेंडामा रोग लागेन जसले विषादी हाल्ने खर्च कृषकको जोगिएकोले पनि फाइदा भएको छ ।

    यस्तै, जहदा ४ का पवनकुमार सिंहले पनि १० कठ्ठामा गोलभेंडा खेती गरेको बताए । ‘गोलभेंडा खेतीबाट यस वर्ष न्यूनतम १० लाख आम्दानी हुन्छ,’ उनले भने, ‘मौसम अनुकूल भएकोले रोग किरा नलाग्दा लागत कम लागेको तर उत्पादन बढेकोले फाइदा हुने भएको छ ।’

    उनले अहिले जहदा र कटहरीबाट प्रत्येक दिन १० भन्दा बढी ट्रक गोलभेंडा उत्पादन भएर बिक्री भइरहेको बताए । ‘प्रत्येक दिन अहिले ब्यापारीहरु खेतमा नै आएर गोलभेंडा खरिद गरेर ट्रकमा लग्ने गरेको छ,’ उनले भने, ‘विराटनगर, काँकडभिट्टा, दमक, राजविराज, जनकपुर, वीरगञ्ज, पोखरा, काठमाडौंका ब्यापारी अहिले खेत खेतमा गोलभेंडा तौल गराउन आउने गरेका छन् ।’ 

    उनले फाल्गुनभर विवाह, व्रतबन्धको समय भएकोले गोलभेंडाको माग बजारमा अत्यधिक रहेको सुनाए । अहिले जताततैबाट व्यापारीहरुले गोलभेडांका लागि फोन गर्ने गरेको र कतिपय ब्यापारीहरुले जबरजस्ती खेतमा आएर टिप्न लगाइ खरिद गरेर लग्ने गरेको उनको भनाई छ । 

    कृषक कोपिन्द्रका अनुसार कटहरी र जहदामा गरी १ हजार हेक्टरमा तरकारी खेती भइरहेको छ । जसमा अधिकांश कृषकले ५ कठ्ठादेखि एक बिघासम्म गोलभेंडा खेती लगाउने गरको उनले बताए । उन्नत जातको गोलभेंडा प्रति कठ्ठा ४ सय ५० बिरुवा रोप्ने गरेको र प्रति बिरुवा न्यूनतम १५ किलो र अधिकतम २५ किलो गोलभेंडा फल्ने गरको कोपिन्द्रको भनाई छ ।

    ‘गोलभेंडा खेतीमा सरदर प्रति कठ्ठा १५ हजार लागत छ,’ उनले भने, ‘गोलभेंडाबाट आम्दानी सरदर १ लाख २५ हजार रुपैयाँ सम्म हुने गरेको छ ।’ लागत र आप्mनो ज्याला समेत निकालेर प्रति कठ्ठा १ लाख रुपैयाँ गोलभेंडा खेतीबाट कृषकलाई आम्दानी भइरहेको उनी भन्छन् । 

    उनले गोलभेंडासँगै बाँँसको खम्बा गाडेर नाइलन धागो लगाइसकिएकोले अब चाँडै सँगै करेला, लौका, घिरौला पनि लगाउने तयारी गरेको बताए । उनले गोलभेंडा खेतीमा गरेको लगानीले नै अर्को तरकारी बाली पनि उत्पादन हुने गरेकोले बढी आम्दानी हुने गरेको सुनाए । 

    कृषि ज्ञान केन्द्र इकाइ विराटनगरका कृषि प्रसार अधिकृत रामदेव सिंहले यस वर्ष हिउँदमा शीतलहर नचलेकोले गोलभेंडाको बिरुवामा कुनै किसिमको रोग नलोकाले बढी उत्पादन भएको बताउनुभयो । ‘शीतलहर नभएपछि रोग लागेन र रोग नलागेपछि कृषकलाई विषादीमा लगानी गर्नु परेको छैन,’ उहाँले भन्नुभयो, ‘अर्को तिर स्वस्थ्य बिरुवा भएकोले उत्पादन बढेको र अहिले बजारमा गोलभेंडाको माग अत्यधिक रहेकोले मूल्य पनि कृषकहरुले राम्रो पाइरहेकोले फाइदा भएको छ ।’ 

    प्रदेश १ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता मनोजकुमार यादवले प्रदेशभरको कुल २६ लाख ४२ हजार ३ सय १० हेक्टर क्षेत्रफल मध्ये खेती योग्य ९ लाख २७ हजार ४ सय १९ हेक्टर जग्गा रहेको बताउनुभयो । उहाँले खेती भइरहेको ८ लाख ९४ हजार ७ सय ६५ हेक्टरमध्ये ४ हजार ५ सय ४९ दशमलव ५ हेक्टरमा गोलभेंडा खेती हुँदै आएको बताउनुभयो । गोलभेंडाको प्रति हेक्टर सरदर ९ दशमलव ८ मेट्रिकटन उत्पादन भइरहेको उहाँले जानकारी दिनुभयो । 

    प्रकाशित:फाल्गुन २६, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्