सुनसरीका किसान उखु खेती तर्फ आकर्षित, उत्पादन बढ्यो

- देवनारायण साह, मोरङ
  • ८ लाख ९४ हजार ७ सय ६५ हेक्टर क्षेत्रफलमा उखु खेती
‘आफ्नो ७/८ कठ्ठा जग्गा सहित प्रति बिघा ४० र ५० हजारको दरले भाडामा १४ बिघा जग्गा लिएर व्यवसायिक खेती गर्दै आएको छु,’ उनले भने, ‘परम्परागत शैलीलाई छोडरे नयाँ प्रविधि अपनाएपछि खेतीमा फाइदा बढेको छ ।’

फाल्गुन २७, २०७५

सुनसरीको देवानगञ्ज २ का सबुल अन्सारीले एक कठ्ठा जग्गामा ६० क्विण्टल उखु उत्पादन गर्न सफल भएका छन् । अन्सारीले ४ बिघा जग्गा मध्ये २ बिघामा सीओ ०२३८ र २ बिघामा सीओएस ८८२३० प्रजातीको उन्नत जातको उखु लगाएको बताए । ‘सीओ ०२३८ प्रति कठ्ठा ६० क्विण्टलको दरले उत्पादन भयो,’ उनले भने, ‘सीओएस ८८२३० प्रजाती प्रति कठ्ठा ४५ क्विण्टलको दरले उत्पादन भयो ।’ 

एउटै कित्ताको खेतमा दुबै प्रजातीको उखु लगाएको तर जात अनुसार उत्पादन फरक आएको अन्सारीले सुनाए । सीओ ०२३८ प्रजातीको उखु मोटो र लामो भएको प्रति कठ्ठा ६० क्विण्टल उत्पादन भएको तर सीओएस ८८२३० प्रजातीको उखु अलिकति कम मोटो भएकोले प्रति कठ्ठा १० क्विण्टल कम उत्पादन भएको उनको भनाई थियो । 

‘प्रति कठ्ठा ६ हजार २ सय ५० रुपैयाँको दरले दुबै प्रजातिको उखुमा लागत लगाएको थिएँ,’ उनले भने, ‘४ बिघा उखु खेतीमा कुल ५ लाख रुपैयाँ लागत लगाएको थिएँ ।’ उनले चारै बिघा उखुमा सुरुमा अन्न बाली समेत लगाएको सुनाए । ‘अन्न बालीले प्रति बिघा खर्च कटाएर १ लाख ५० हजारको दरले आम्दानी भएको थियो,’ उनले भने, ‘४ बिघा उखु खेतीमा लागत ५ लाख तर अन्नबालीले नै ६ लाख आम्दानी लिइसकेकोले उखुको आम्दानी पनि शतप्रतिशत मुनाफा नै भएको छ ।’ 

अन्सारीले उत्पादन गरको उखु सुनसरीको बर्जु गाउँपालिका ५ स्थित इस्टर्न सुगर मिलमा बिक्री गरेको बताए । उनले प्रति क्विण्टल उखुको मूल्य ४ सय ४१ रुपैयाँ २८ पैसा मिलबाट र ६५ रुपैयाँ २८ पैसा सरकारबाट गरी कुल ५ सय ६ रुपैयाँ ५६ पैसाको दरले बिक्री गरेको बताए । अन्सारीले उखु बिक्री गरेर यस वर्ष २१ लाख २७ हजार ५ सय ५२ रुपैयाँ र उखु खेतीको लागत कटाएर अन्न बालीबाट १ लाख गरी २२ लाख २७ हजार ५ सय ५२ रुपैयाँ आम्दानी भएको बताए ।

उनले उन्नत जातको उखुसँगै राजमा, गोलभेंडा, आलु, काउली र गाजर लगात अन्न बाली लगाउने गरेको सुनाए । ‘आफ्नो ७/८ कठ्ठा जग्गा सहित प्रति बिघा ४० र ५० हजारको दरले भाडामा १४ बिघा जग्गा लिएर व्यवसायिक खेती गर्दै आएको छु,’ उनले भने, ‘परम्परागत शैलीलाई छोडरे नयाँ प्रविधि अपनाएपछि खेतीमा फाइदा बढेको छ ।’

ड्याङ बनाएर पाँच फिटको चौडाइको बीचमा उन्नत जातको उखु लगाएपछि समय अनुकूल मल, पानी हालेर गोड्मेल गरेको अन्सारीले बताए । उखुको लाइन छोडेर बीचमा अन्न बाली लगाउने गरेको उनले सुनाए ।

यस्तै, हरिनगर गाउँपालिकास्थित गौतमपुरका कृषक अरबिन्द मेहताले तीन बिघामा लगाएको उन्नत जातको उखु प्रति कठ्ठा ४५ क्विण्टलको दरले उत्पादन भएको बताए । 

यस्तै, देवानगञ्ज ५ साहेब गञ्जका कृषक सुबोध यादवले पनि १ बिघामा लगाएको उन्नत जातको उखु प्रति कठ्ठा ६० क्विण्टलको दरले उत्पादन भएको बताए । उनले उन्नत जातको बीउ रोपेर आधुनिक तरिकाले खेती गरेपछि आम्दानी राम्रो हुने गरेको बताए । 

‘यहाँका कृषकहरु अहिलेसम्म परम्परागत तरिकाले खेती गर्दै आएकोले उभो लाग्न सकेको छैन,’ उनले भने, ‘बढी आम्दानी लिनका लागि उन्नत जातको बीउ र आधुनिक प्रविधि अपनाएर समयमा मल, पानी र गोड्मेल गरेपछि सोचे भन्दा राम्रो आम्दानी हुन्छ भन्ने प्रशस्त उदाहरण हेर्न सकिन्छ ।’ पछिल्लो समय सुनसरी र मोरङका कृषकहरुले आधुनिक प्रविधिले उन्नत जातको उखुको बीउ रोपेर मनग्यै आम्दानी गर्न थालेका छन् । 

इष्टर्न सुगर मिल्सका उखु विभाग प्रमुख सुरेशप्रसाद मेहताले अन्सारी, मेहता, यादव लगायत धेरै कृषकले प्रति कठ्ठा ६० क्विण्टलको उखु उत्पादन गरेर मिलमा बिक्री गरेको बताए । यसरी आधुनिक प्रविधिले उन्नत जातको बीउ लगाएर खेती गर्ने कृषकलाई कहिल्यै पनि रुने दिन नआउने उनको भनाई थियो ।

‘यस वर्षदेखि मिल्सले समयमा उखुको भुक्तानी पनि दिन थालेकोले उखु खेतीबाट कृषकहरुले मनग्यै आम्दानी गर्न थालेका छन्,’ उनले भने, ‘त्यसैले अब कृषकहरुले आधुनिक तरिकाले उन्नत जातको उखु उत्पादन गरेर आम्दानी लिनुका साथै उद्योगलाई पनि उखु आपूर्ति गरेर चिनी उत्पादनमा सघाएपछि देशको अर्थतन्त्रमा सुधार आउँछ ।’ 

‘मोरङ र सुनसरी २ जिल्लाका २ हजार १ सय कृषकले गत वर्ष मिल्सलाई ११ लाख ७८ हजार क्विन्टल उखु बिक्री गरेका थिए, उनले भने, ‘यसवर्ष २ हजार ४ सय कृषकले गरेको खेतीबाट करीब साढे १४ लाख क्विन्टल उखु उत्पादन हुने भएको छ ।’ 

प्रदेश १ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता मनोजकुमार यादवले प्रदेशभरीमा ९ लाख २७ हजार ४ सय १९ हेक्टर खेतीयोग्य जग्गामध्ये ८ लाख ९४ हजार ७ सय ६५ हेक्टरमा उखु खेती भइरहेको बताउनुभयो ।  

प्रकाशित:फाल्गुन २७, २०७५

User's Feedback

Comment via Facebook

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्