नेपालमा ३० लाख मानिस मिर्गौला सम्बन्धी रोगको जोखिममा 

- इन्द्रलक्ष्मी घिमिरे, काठमाडौं
    नेपालमा अंग प्रत्यारोपणमा देखिएको चुनौतीपूर्ण समस्या हो अंग अभाव ।  कानूनतः आफन्तको रजामन्दीमा निजलाई कुनै समस्या नआउने प्रमाणित भएपछि मात्रै आफन्तबाटै अंग दान गर्ने नियम छ । तर, सबै बिरामीको हकमा यही नियम उपयोगी नहुने भएकाले अंगको सुलभतामा ध्यान दिनुपर्ने देखिन्छ । त्यसका लागि अंग दान गर्नुपर्छ भन्ने चेतना  जगाउनुपर्ने डा.साहको भनाई छ ।

    फाल्गुन ३०, २०७५

    विश्वका अधिकांश मुलुकको कुल जनसंख्याको १० प्रतिशत मानिस मिर्गौला सम्बन्धी रोगबाट पीडित हुने गरेको तथ्याङ्क विश्व स्वास्थ्य संगठनको तथ्याङ्क छ । यस आधारमा नेपालमा करीब ३० लाख मानिसमा मिर्गौला सम्बन्धी जोखिम रहेको चिकित्सकहरु बताउँछन् ।

    करीब ३० हजार व्यक्ति रोगको अन्तिम चरणमा पुगी डायलासिस वा प्रत्यारोपण गर्नुपर्ने अवस्थामा रहेको उनीहरु बताउँछन् । पछिल्लो समय त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गौला प्रत्यारोपण गराउनेको संख्या ५ सय ५० पुगेको छ । यस्तै, मुलुकका विभिन्न अस्पतालमा १३ सय बढीले सफल मिर्गौला प्रत्यारोपण गरेको तथ्याङ्क छ ।

     सामान्य अवस्थामा मिर्गौला सम्बन्धी रोगको लक्षण थाहा नहुने र अधिकांश बिरामी मिर्गौलामा ८० प्रतिशत बढी खराबी आइसकेको अवस्थामा मात्रै चिकित्सकको सम्पर्कमा आउने गरेको वरिष्ठ मिर्गौला रोग विशेषज्ञ दिव्यासिंह साह बताउनुहुन्छ । नेपालमा अंग प्रत्यारोपण सम्बन्धी कानून बनिसकेको छ । यद्यपि, कानून मात्रैले समस्या समाधान नहुने डा. साह बताउनुहुन्छ ।

     नेपालमा जनस्वास्थ्य सेवा ऐन २०७५ को परिच्छेद ४ को दफा ३५ मा मानव अंगको प्रत्यारोपण तथा प्रयोग सम्बन्धी कानूनको व्यवस्था गरिएको छ । त्यसको आधारमा डायलासिस र प्रत्यारोपणका लागि केही सहज नीति अवलम्बन गरेको भएपनि त्यसका लागि चाहिने उपकरण अभाव छ ।

     अर्कोतर्फ प्रत्यारोपण पछि पनि जीवन भरि नै खाइराख्नुपर्ने औषधीको खर्च धान्न सक्ने अवस्था समेत सबै बिरामीको नभएकोले त्यसतर्फ पनि सरकारले नीतिगत व्यवस्था गर्नुपर्ने डा. शाहको भनाई छ । यद्यपि, रोग लागिसकेपछि के गर्ने भन्दा पनि सरकारले रोकथामका लागि नै सचेतनामुलक कार्यक्रममा जोड दिनुपर्ने र व्यक्ति स्वयम पनि सचेत हुनुपर्नेमा सरोकारवालाले जोड दिँदै आएका छन्। 

    डा. साहका अनुसार नेपालमा अंग प्रत्यारोपणमा देखिएको चुनौतीपूर्ण समस्या हो अंग अभाव । कानूनतः आफन्तको रजामन्दीमा निजलाई कुनै समस्या नआउने प्रमाणित भएपछि मात्रै आफन्तबाटै अंग दान गर्ने नियम छ । तर, सबै बिरामीको हकमा यही नियम उपयोगी नहुने भएकाले अंगको सुलभतामा ध्यान दिनुपर्ने देखिन्छ । त्यसका लागि अंग दान गर्नुपर्छ भन्ने चेतना  जगाउनुपर्ने डा.साहको भनाई छ ।

     काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा मात्रै सयौं बिरामीको मस्तिस्कघात, ह्ृदयघात, दुर्घटना, लगायतबाट मृत्यु हुने गरेको छ । तर मरणोपरान्त पनि अंगदान गर्नेको संख्या शून्यप्राय छ । चेतनाको कमी वा केही सामाजिक संस्कार लगायतले पनि अंग दान गरेको पाइन्न । अंग दानका विषयमा आवश्यक परेको खण्डमा कानूनमा संशोधन गरेर भएपनि आफन्त बाहेक साथी, आसपासका व्यक्तिबाट पनि अंग लिन पाउने व्यवस्था गर्न सकिने चिकित्सकहरु बताउँछन् । 

    मिर्गौला रोगको कारण 

    मधुमेह, उच्च रक्तचाप, युरिक एसिड, पिसाब सम्बन्धी संक्रमण, एन्टीबायोटिक औषधीको अधिकतम प्रयोग, मिर्गौलामा पत्थरी तथा वंशानुगत कारणले पनि मिर्गौला सम्बन्धी रोगको जोखिम बढी हुन्छ ।

    मिर्गौला रोगका लक्षण

    मिर्गौलामा समस्या देखिन थालेपछि थकाइ र कमजोरी महशुस हुनु, हात गोडा सुन्निनु, महिलाको हकमा महिनावारी गडबडी हुने, मांसपेशी बाउँडिने, रक्तअल्पता जस्ता लक्षणहरु देखिने गर्छन् । 

    बच्ने उपाय 

    नियमित स्वास्थ्य परिक्षण गराउने, सन्तुलित स्वास्थ्य आहार सेवन, नियमित व्यायाम, जाँड, रक्सी, चुरोट, बिँडी जस्ता सूर्तीजन्य पदार्थ सेवन नगर्ने लगायतका रोकथामका उपाय अपनाएर सम्भावित जोखिमबाट बच्न सकिन्छ ।

     मिर्गौला सम्बन्धी रोगले बालबालिकादेखि वृद्धवृद्धा सम्मलाई सताउने गर्छ । यसको उपचार पद्धती भनेकै नियमित डायलासिस र जतिसक्दो छिटो प्रत्यारोपण गर्नु हो । प्रत्यारोपण पछि पनि बिरामीले नियमित औषधी सेवन गर्नैपर्ने चिकित्सकहरु बताउँछन् । 

     

    प्रकाशित:फाल्गुन ३०, २०७५

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्